Logo

प्रतिनिधिसभा बैठकः उठ्यो सुन तस्करीदेखि सहकारी ठगीसम्मका मुद्दा



काठमाडौँ, १ चैत । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सत्ता गठबन्धनमा हेरफेरसँगै मुलुकमा सुशासन र समृद्धिको यात्रा सहज भई जनतामा आशाको सञ्चार हुनुपर्नेमा जोड दिएक छन् ।

बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सत्ता परिवर्तनले आफूहरु नअत्तालिएको बताउँदै मुलुकको सुशासन र समृद्धिको यात्रा सहजरुपमा अगाडि बढ्नुपर्ने माग गरे । उनले सहकारी ठगी र सुन तस्करीका घटनामा जोडिएका सत्तागठबन्धन निकटका व्यक्तिहरुलाई जोगाउने प्रपञ्च भएको आरोप लगाए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले जिम्मेवार राजनीतिक दलका बीचमा नयाँ सहकार्य भएकाले पुनःगठित सरकार देशका यावत् समस्या समाधान गरी समाजवादोन्मुख अवस्था विकास गर्न सफल होस् भन्ने कामना गरे । उनले जनतामा रहेको निराशालाई सुशासन र समृद्धिका माध्यमबाट आशा र भरोसामा रुपान्तरण गर्न वामपन्थी दलबीचको सहकार्यलाई एकतासम्म लान र राष्ट्रिय मुद्दामा लोकतान्त्रिक शक्तिसँग पनि सहकार्य गर्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सत्ता समीकरण फेरिए पनि जनता र राष्ट्रका मुख्य मुद्दाको प्रगतिशीलरुपमा सम्बोधन गराउनु सबैको दायित्य भएको बताउँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई छिटो टुङ्गोमा लान आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा चन्दा कार्कीले महोत्तरीको जलेश्वर प्रादेशिक अस्पतालमा पूर्वाधारलगायत सुविधा नहुँदा सेवाग्राहीले उचित सेवा पाउन नसकेको सवाल उठाइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनिसा नेपालीले जाजरकोट भूकम्पबाट प्रभावितले अझै राहत नपाएको गुनासो गरिन् । जनता समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादवले वीरगञ्ज–नारायणी रङ्गशाला खण्डहर बनेकाले पुनःनिर्माणको माग गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापाले नयाँ सरकार बनेको अनुभूति जनताले गर्न पाउनुपर्ने बताए । जनमत पार्टीका सांसद अब्दुल खानले मन्त्रिपरिषद्मा एकजना पनि दलित समुदाय नपरेको जनाउँदै यसरी समानुपातिक समावेशीताको सिद्धान्त लागू हुन नसक्ने टिप्पणी गरे ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले तराई–मधेसमा साम्प्रदायिक दङ्गा फैलन नदिन सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले गत फागुन २८ गते कर्णाली चिसापानी पुलमा गुड्दै गरेको गाडीमा भएको आगलागीबाट भएको क्षति मूल्याङ्कन गरी पुनःनिर्माणको माग गरे ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपाल–भारत खुला सीमा बन्द गराउन भारत सरकारसँग कुरा गर्न आग्रह गरे । आमजनता पार्टीका सांसद प्रभु साहले नेपालमा उखुको भण्डार भए पनि चिनीको मूल्य महँगो हुने, वन जङ्गलको प्रचुरता भए पनि विदेशबाट काठ ल्याउनुपर्ने स्थितिको अन्त्य गर्न माग गरे ।

सांसद डा अमरेशकुमार सिंहले कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशको अखण्डतामा प्रश्न उठेकाले यसबारे जवाफ दिन माग गरे । रासस



प्रतिक्रिया दिनुहोस्