Logo

जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणमा समस्या : प्रधानमन्त्री दाहाल



काठमाडौँ, १ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणको क्षेत्रमा गम्भीर समस्या देखिँदै गएको बताएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आज यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नवीन केन्द्र’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणको क्षेत्रमा गम्भीर समस्या देखिएको बताए ।

“जलवायु परिवर्तनबाट समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपका घटना उत्पन्न हुँदै गएका छन्, सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत् रणनीति आवश्यक छ”, उनले भने । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असरबाट देखिएको स्वास्थ्य प्रणाली र समुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीन खोज र स्थानीय ज्ञानको उपयोगमा लाग्नुपर्ने बताए । जलवायु परिवर्तनको असर विश्वका हरेक कुनाकुनामा देखा परेको उल्लेख गर्दै उनले यसको समाधानका लागि साझा प्रयास आवश्यक रहेको बताए ।

“जलवायु वैज्ञानिकले स्पष्टरूपमा भनेका छन्, एक दशमलव पाँच डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीयरूपमा घटाउनुपर्छ”, प्रधानमन्त्री दाहालले भने । विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभई त्यसका परिणाम ज्यादै महत्वपूर्ण भएको उनको भनाइ थियो ।

जलवायु परिवर्तनको असरका कारण पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको विस्फोट तथा खडेरी बारम्बार र भयावह हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस्ता प्रकोपले गरिब, महिला, बालबालिका र आदिवासी एवं जातीय समूह मारमा परेका बताए । पछिल्लो प्रतिवेदनअनुसार प्राकृतिक हिमशृङ्खला र विश्वव्यापी स्रोत एकतिहाइ गुमेको उनले बताए । यस्ता हानिनोक्सानीले जैविक विविधतालाई मात्र नभई तटीय क्षेत्रमा रहेका अर्बौं मानिसको जीविकोपार्जनलाई समेत खतरामा पारेको प्रधानमन्त्री दाहालले उल्लेख गरे । युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईमा सम्पन्न कोप–२८ देखि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालगायतका अन्तर्राष्ट्रिय मञ्चमा आफूले जलवायु परिवर्तनका कारण अतिकम विकसित मुलुकले भोग्नुपरेका अनेक चुनौतीका विषयमा वकालत गर्दै आएको प्रधानमन्त्री दाहालले बताए ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जलवायु परिवर्तनको असरका कारण नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो समस्या परेको बताए । “जलवायु परिवर्तनको असरले नेपालको स्वास्थ्य क्षेत्र ठूलो जोखिममा परेको छ, यो मुलुकका लागि चुनौतीको विषय हो”, उनले भने ।

उपप्रधानमन्त्री यादवले जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि गुरुयोजना बनाएर अगाडि बढ्न आवश्यक रहेको उल्लेख गरे । उनले यसबाट हुने जोखिम न्यूनीकरणका लागि विभिन्न देशसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको दिगो विकासका लागि आजैदेखि सोच्नुपर्नेबेला आएको बताए । उनले जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि राष्ट्रियस्तरबाट विशेष नीति बनाएर अन्तर्राष्ट्रियस्तरसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नास्टका उपकुलपति डा दिलीप सुब्बा, सचिव डा रवीन्द्रप्रसाद ढकाल, जलवायु स्वास्थ्य फाउण्डेशन अमेरिकाकी प्रतिनिधि क्लेयर ल्याङ्गली, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) युकेकी उपमहानिर्देशक इजाबेला कोजीइललगायतले जलवायु परिवर्तनले विश्वलाई नै असर पारेको भन्दै यसको नियन्त्रणका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा जलवायु परिवर्तनले स्वास्थ्य र वातावरणका क्षेत्रमा पारेका असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ तथा कसरी एकताबद्ध भएर नयाँ खोज र अनुसन्धानमा जुट्न सकिन्छ भन्नेबारेमा बृहत् छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रमोद जोशीले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्