Logo

ठूलो सङ्ख्यामा माछाका भुरा उत्पादन गर्दै मत्स्य विकास केन्द्र



चितवन, १ चैत । मत्स्य विकास केन्द्र भण्डाराले चालु आर्थिक वर्षमा ठूलो सङ्ख्यामा माछाका भुरा उत्पादन गर्ने गरी काम अघि बढाएको छ । केन्द्रले यस वर्ष विभिन्न आठ जातका सात करोड २१ लाख माछाका भुरा उत्पादन गर्ने योजनाका साथ काम गरिरहेको छ ।

कार्यालयका प्रमुख माधवप्रसाद दाहालका अनुसार ह्याचरी गरिएका, फिसिङ र फ्राइ साइजका भुरा बिक्री गर्ने लक्ष्य लिएको छ । दुईदेखि तीन दिनसम्मका (ह्याच गरिएका) छ करोड ५० लाख, फ्राइसाइज (एक महिना हुर्काइएका)का ६५ लाख र फिङ्गर (दुईदेखि तीन महिनासम्म हुर्काइएका) छ लाख माछाका भुरा बिक्री गर्नेगरी काम गरिएको उनले बताए । उनले भने, “हामीले लक्ष्यभन्दा धेरै माछाका भुरा उत्पादन गरेर बिक्रीवितरण गर्दै आएका छौँ । यस वर्ष पनि बढी नै उत्पादन गर्ने योजना छ ।”

मौसममा आएको परिवर्तनका कारण यस वर्ष भुरा उत्पादनमा केही ढिलाइ भएको भए पनि किसानलाई आवश्यकतानुसारका भुरा उत्पादनमा केन्द्र लागेको उनले बताए । उनले थपे, “गत वर्षहरूमा फागुन अन्तिम साताबाट भुरा बिक्रीवितरण सुरु हुन्थ्यो भने अहिले चैतको पहिलो सातादेखि सुरु गर्ने योजनामा छौँ । केही दिनभित्रै बिक्री सुरु गरिँदैछ ।”

केन्द्रले २२ बिघा क्षेत्रफलमा माछाका भुरा उत्पादन गरी बिक्री गर्दै आएको छ । छत्तीसवटा पोखरीमध्ये ३५ वटा पोखरीमा भुरा उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

यहाँ उत्पादित माछाका भुरा चितवन, बारा, पर्सा, तनहुँ, नवलपुर, लमजुङ, कास्कीसहित २२ जिल्लाका किसानलाई बिक्रीवितरण गरिँदै आइएको छ । जिल्लामा एक हजार एक सय हेक्टर क्षेत्रफलमा माछा पालिँदै आएको छ । एक हेक्टरमा १५ हजार माछाका भुरा आवश्यक पर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य अधिकृत भीमदत्त भट्टको भनाइ छ । उनका अनुसार जिल्लाबाट वार्षिक चार हजार पाँच सयदेखि पाँच हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot