Logo

सरकारले भन्यो: राजनीतिक प्रतिशोधले गृहमन्त्री लामिछानेको राजीनामा मागियो



काठमाडौं,२ चैत । सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजनीतिक प्रतिशोध साँधेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको बताएकी छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सहकारी ठगीमा लामिछाने जोडिएको भन्दै कांग्रेसले उनको राजीनामा मागेको थियो । कांग्रेसको अवरोध पछि बैठक स्थगित भएको थियो । प्रतिनिधि सभा बैठकपछि बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारकर्मीहरुसँग मन्त्री शर्माले कांग्रेसको अडानको कुनै अर्थ नरहेको दाबी गरिन् ।

“भर्खर काम गर्न सुरु गर्नु भएको छ । पुनर्गठित मन्त्रीज्यूहरू त भर्खर न सुरु गर्नुभएको छ । यो बेलामा आएर राजनीतिक पूर्वाग्रहको आधारमा काम हेर्ने पर्‍यो के,” उनले भनिन्, “काममा गल्ती भयो, काममा कमजोरी भयो, काममा कोही आशंकाको दायरामा तानियो भने स्वाभाविक ढंगले राजीनामा दिएर जाने स्थिति बन्छ । तर, जुन ढंगले राजीनामा माग भइरहेको छ, एउटा राजनीतिक प्रतिशोध जस्तो हामीलाई लागिराखेको छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot