काठमाडौं, ६ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव गणेश साहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै उपाध्यक्षलाई सजायको भागिदार बनाएर नजीर स्थापित गरेको बताएका छन् । हिजा (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा गल्ती गर्ने कोही पनि उम्कन पाउँदैनन् भन्ने कुरा प्रचण्डले प्रमाणित गरेर देखाएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले गलत गर्ने जो कोहीलाई पनि नछाड्न र अनुसन्धानका क्रममा आफ्नै (प्रचण्डकै) नाम जोडिए पनि अनुसन्धान नरोक्न भनेको उनको दाबी छ ।
‘आफ्नै प्रधानमन्त्री हुँदाखेरी आफ्नै मान्छेले ठीक काम गरेन भने ऊ सजायको भागिदारी हुनुपर्छ भन्ने नजीर स्थापित भएको जस्तो मलाई लाग्छ । जुन आयोगले प्रतिवेदन दियो, त्यो आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने नगर्ने प्रधानमन्त्रीले गर्न सक्नुहुन्थ्यो । म प्रधानमन्त्री भएपनि तस्करी, भ्रष्टाचारमा मुछिएका जोसुकै व्यक्ति, मलगायत भएपनि अनुसन्धान गर्नु भनेर त पटक–पटक भनिरहेको हो नि,’– उनले भने ।
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हिजो (सोमबार) कपिलवस्तुबाट पक्राउ परेका थिए । उनी सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले हिजो नै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत महरालाई जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला अदालत काठमाडौंले महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ ।