Logo

दुई अनाथ बालकलाई निःशुल्क पढाउन काठमाडौं जेभियर पब्लिक स्कुलमा पुगे दिपेन्द्र श्रेष्ठ



काठमाडौं, ६ चैत्र । बागमतीका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले दुई अनाथ बालकहरूलाई निःशुल्क पढाउन काठमाडौं जेभियर पब्लिक स्कुलमा पुगेर पहल गरेका छन् । बाबु-आमा गुमाएका रिजम र रिदम तण्डुकारलाई निःशुल्क पढाइदिन उनले काठमाडौं जेभियर पब्लिक स्कुलका प्रिन्सिपल आरबी अधिकारीलाई अनुरोध गरेका हुन् । सांसद दिपेन्द्रको प्रस्तावमा अधिकारीले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० मा बसोबास गर्ने राजकुमार तण्डुकार र लक्ष्मी तण्डुकारको निधनपछि रिजम र रिदम बेसाहारा बनेका छन् । उनीहरूको बन्दोबस्त गर्न त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ निरन्तर लागिरहेका छन् । रिदम र रिजमलाई उनले तत्काल ५० हजार आर्थिक सहयोग गरेर अन्य व्यवस्थापन गर्न निरन्तर सक्रियत छन् ।

रिदम र रिजमलाई निःशुल्क शिक्षा प्रदान गर्न काठमाडौं जेभियर पब्लिक स्कुलले सकारात्मक भूमिका खेलेपछि पूर्वमन्त्री समेत रहेका दिपेन्द्र हौसिएका छन् । अनाथ बालकहरु पालनपोषणका लागि समेत उनले सहयोगी हातहरूसँग सहकार्य गरिरहेका छन् । दिपेन्द्र एउटा राजनीतिज्ञ मात्र होइन सच्चा समाजसेवी समेत हुन् । बेसाहारा रिजम र रिदमको भविष्य उज्वल बनाउनका लागि उनले खेलेको भूमिका अमूल्य रहेको छ ।

रिजम र रिदमलाई खानपिन र बसोबासको उचित व्यवस्थापनका लागि समेत दिपेन्द्रले सहयोगी हातहरूसँग सहकार्य अघि बढाएका छन् । त्यसका लागि उनले विभिन्न व्यक्तिहरुसँग कुराकानी गरिरहेका छन् । रिजम र रिदमको अभिभावक बनेर खटिरहेका दिपेन्द्रलाई सहयोग गर्न अन्य व्यक्तिहरु समेत आतुर रहेको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्