Logo

नेपाली कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग



काठमाडौँ, ६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानको राजीनामा माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध गत माघ २२ गते पोखराको सूर्यदर्शन सहकारीका पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको र यसको निष्पक्ष छानबिन गरिनुपर्ने माग कांग्रेस नेता दीपक गिरीले संसदमा राखे ।
यस मुद्दामा निष्पक्ष छानबिनमा बाधा पुग्ने देखिएकाले नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेको गिरीले उल्लेख गरे । विद्यमान सहकारी ऐनले सहकारी संस्थाका सदस्यलाई मात्र कर्जा प्रवाह गर्नसक्ने व्यवस्था रहेपनि गैरसदस्यलाई समेत ऋण दिइएको विषय गैरकानूनी रहेको उनले दाबी गरे ।
     प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोज्दैँ सांसद गिरीले मिटरब्याजपीडित, सहकारीपीडितलगायतले न्याय पाउनुपर्छ भनेर सदनभित्र र बाहिरसमेत कुरा उठाइरहेको भएपनि त्यसको अझै सुनुवाइ हुन नसकेको बताए । विभिन्न सहकारी संस्थामा भएको ठगीको विषयलाई गम्भीरताका छानबिन गर्न कांग्रेसले माग गरेको छ । स्वार्थको द्वन्द्व हुनेगरी सरकारले मन्त्री नियुक्त गरेको आरोप पनि उनले लगाए ।
     प्रतिनिधिसभाको आजको बैठकमा सांसद सरस्वती बजिमयले देशैभर प्राकृतिक र मानवजन्य प्रकोपले आम सर्वसाधारण पीडित भइरहेकोबारे संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ मा भएको आगलागीबाट भएको क्षतिको मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्ति दिइनुपर्ने बताइन् ।
त्यसैगरी, सोहि नगरपालिकाको वडा नम्बर १ र २ मा पनि अहिले आगलागी भइरहेकाले त्यसको नियन्त्रणका लागि पहल गर्न माग गरिन् । जिल्लाका अरु स्थानमा पनि आगलागी भइरहेको उनको भनाइ छ । अहिलेसम्म खोटाङमा विभिन्न ३० स्थानमा आगलागी भइरहेको र ११ घर पूर्णरुपमा नष्ट भएको, ६७ वटा पशु चौपाया र १५ वटा कुखुरा मरेको उनले संसदमा बताइन् । आगलागीबाट हालसम्म जिल्लामा करिब  एक करोड २० लाख ९० हजार बराबरको क्षति अनुमान गरिएको उनले बताइन् ।
     सांसद देवेन्द्र पौडेलले पछिल्लो समय सवारी दुर्घटना बढिरहेको र यसबाट वर्षेनी हजारौं व्यक्तिले ज्यान गुमाइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराए । पछिल्लो पाँच वर्षमा मात्र १४ हजारभन्दा बढीले सवारी दुर्घटनाबाट ज्यान गुमाएको बताए ।
सोमबार बागलुङको निसीखोलमा भएको बस दुर्घटनामा नौ जनाको मृत्यु र २५ जनाभन्दा बढी घाइते भएको र घाइतेको उद्दार तथा तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे । दुर्घटना न्यूनीकरणका लागि पहल गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए
     सांसद जनार्दन शर्माले पनि सोमबार बागलुङमा भएको बस दुर्घटनाका घाइतेलाई तत्काल उपचारको व्यवस्था गर्न र मृतकलाई हालसम्म परिवारको जिम्मा लगाउन नसकिएकोमा त्यसको व्यवस्थापनका लागि पनि सरकारको ध्यानाकर्षण गराए ।
सवारी दुर्घटनाका कारण ज्यान गुमाउने र अङ्गभङ्ग हुनेको सङ्ख्या निरन्तर बढ्दो क्रममा रहेकोबारे सरकारको ध्यानाकर्षण गराउदैँ सांसद चन्द्रबहादुर विश्वकर्माले दुर्घटना न्यूनीकरणका लागि पहल थाल्न आग्रह गरे । सोमबार भएको बस दुर्घटनाका घाइतेलाई निःशूल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको माग पनि उनले गरे ।
सांसद रघुजी पन्तले नेपाली साहित्यलाई आधुनिक स्वरुप दिने प्रख्यात कथाकार परशु प्रधानको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरे । मुलुकलाई चिनाउन लेखक, कलाकार, संगीतकर्मीको भूमिका रहने भएकाले राज्यले उनीहरुलाई प्रवद्र्धन र संरक्षण गर्नुपर्नेमा पनि उनले जोड दिए । अहिले साझा प्रकाशन रुग्ण अवस्थामा पुगेको प्रति पनि उनले सरकारको ध्यानाकर्षण गरे । रासस



प्रतिक्रिया दिनुहोस्