काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले निर्वाचन प्रणालीलाई परिवर्तन नगरिकन देशमा राजनीति स्थायित्व हाँसिल नहुने दाबी गरेका छन् । उनले अहिलेकै निर्वाचन प्रणालीबाट कुनैपनि दलले बहुमत हाँसिल गर्न नसक्ने ठोकुवा गरे । नेपाली रेडियो नेटवर्कका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता कोइरालाले यस्तो बताएका हुन् ।
सो क्रममा उनले अहिले एमालेसँग सत्ता सहकार्यको सम्भावना पनि रहेको खुलाए । उनले राजनीतिक आँफैमा सम्भावनाको खेल भएको उल्लेख गर्दै एमालेसँग सहकार्य हुनसक्ने संकेत गरे । तर, सत्ता–सहकार्यकै लागि भनेर आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भने नचलाएको उनको दाबी छ । उनले सत्ता समिकरणमा फेरबदल आएपछि आफूले ओलीसँग नभेटेको पनि जिकिर गरे ।
कोइरालाले शान्ति प्रक्रियालाई टुँगो लगाउन आफूहरु गम्भीर रहेको सुनाए । तर, शान्ति प्रक्रिया टुँगो लगाउँदा पीडितमैत्री बनाउनुपर्ने कुरामा आफूहरु बढि केन्द्रित भएको उनको भनाई छ । उनले भने,‘शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउनको लागि हामी महत्वपूर्ण भूमिका खेल्छौं । पीडितलाई ध्यानमा राख्नुपर्छ । सर्वोच्च अदालतको निर्देशनात्मक व्याख्यालाई स्विकार गर्नुपर्छ अनि अन्तर्राष्ट्रिय मानवअधिकारको मापदण्डलाई पनि सँगै लिएर अघि बढ्नुपर्छ ।’
उनले आफूले शान्ति प्रक्रिया टुँगो लगाउनको लागि पहल गरेको पनि सुनाए । सत्ताबाहिर भएको भनेर आफूले कुनै अड्को नथापेको उनको भनाई छ । उनले भने,‘नेपाली कांग्रेस सत्तामा हुँदापनि मैले यो कुरा पटक–पटक दोहोर्याएको छु । प्रतिपक्षमा भएर मैले यो कुरा भनेको होईन । शान्ति प्रक्रिया राजनीतिक लेनदेनको रुपमा टुँगो लगाउनुहुँदैन् । माओवादीले भनेझैं एमालेले पनि शान्ति प्रक्रिया टुँगो लगाउन स्विकार गर्दैन् । ओलीजीले यो विषयमा पटक पटक एकै कुरा गर्नुहुन्छ ।’
उनले एमाले र माओवादी मिलेको अवस्था चित्रण गर्दै बहुमत हुनेले पास गरेर देखाए भयो नि भनेर पनि चूनौति दिए । उनले भने,‘बहुमत छ भने पास गराएर भयो नि ? कसले रोकेको छ ?’ यद्धपी उनले बहुमतले टिआरसी विद्येयक पास गराईए अन्तर्राष्ट्रियस्तरमा त्यसलाई मान्य नहुने आफ्नो तर्क सुनाए । उनले भने,‘बहुमतले पास गराईयो भने अन्तर्राष्ट्रियस्तरमा त्यो मान्य हुँदैन भन्ने मेरो मान्यता हो । राजनीतिक लेनदेनको हिसाबले जानुहुँदैन् । पार्टीको एउटा निर्णय हुन्छ, ह्वीप लाग्ला हामी मानौंला । तर, हामीले विद्येयक पास गर्दै गर्दा पीडितहरुको पक्षबाट सोच्नुपर्छ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुलाई धोकेबाज भन्न नमिल्ने तर्क गरे । उनले निर्वाचन प्रणाली नफेर्दासम्म देशमा राजनीतिक स्थायित्व नहुने ठोकुवा गरे । प्रचण्डसँग आफ्नो सम्बन्ध अहिलेपनि सुमधुर रहेको कोइरालाको जिकिर छ । उनले भने,‘अहिलेपनि मेरो प्रचण्डजीसँग् राम्रै छ, भेटघाट हुन्छ । अहिले सत्ता परिवर्तनपछि भेटघाट भएको छैन् । मेरो मूल कुरा भनेको देशमा राजनीतिक स्थायित्व चाहिन्छ । नत्र अन्य कुरा अघि बढ्दैन् ।’