Logo

प्रचण्डलाई पाँचै वर्ष सरकारको नेतृत्व दिन ओली तयार भएका हुन त ?



काठमाडौं, ९ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने राजनीतिक शैली नै गलत भएको टिप्पणी गरेका छन् । कांग्रेससहितको माओवादी गठबन्धन भत्काएर माओवादीसहितको नयाँ गठबन्धन बनाउन सफल ओलीले आफूले सरकारको नेतृत्वमा दाबी नगरेको भनेर सार्वजनिक रुपमै बोल्न थालेका छन् ।

धेरैले ओलीको बोलीलाई लिएर शंका गरेका छन् । अहिलेको सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले सरकारको नेतृत्वमा आफ्नो दाबी नरहेको भनेर भन्नु कतै अर्को गठबन्धन बन्ने त होईन ? भनेर पनि प्रश्न उब्जिएको छ । एक त सरकारमा एमालेका मन्त्रीहरुको सहभागिता र लिएको मन्त्रालय हेरेर नै एमालेले यो सरकारलाई महत्व नदिएको र गठबन्धन जुनसुकै बेला भत्किन सक्ने भनेर चर्चा गरिएको छ ।

अहिले ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने कुरा गलत भएको भनेर बोल्नुले पनि खास अर्थ राख्ने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । कतिपयले भने ओलीले १० सिट भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री नबनाउनको लागि यस्तो अस्त्र फालेको भनेर पनि टिप्पणी गर्ने गरेका छन् ।

ओलीले धनगढीमा आयोजित एक पत्रकार सम्मेलनमा पाँचै वर्ष अहिलेका प्रधानमन्त्री प्रचण्डले नै सरकारको नेतृत्व गर्ने हो कि भनेर पनि बोलेका छन् । यो बीचमा ओलीसँग कांग्रेसका शीर्ष नेताहरुले सत्ता–सहकार्यको लागि नयाँ शीराबाट सहमति खोज्नेगरि भेटवार्ता गरेको चर्चा पनि छ ।

कांग्रेसका महामन्त्री गगन थापाले बालकोट पुगेर हालै ओलीसँग यस विषयमा कुरा गरेको भनिएको छ । कांग्रेस र एमाले मिलेर मुलुकलाई राजनीति स्थायित्व दिनुपर्ने दुई दलका दोस्रो तहका नेताहरुको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्