काठमाडौं, ९ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले विप्लव नेतृत्वको नेकपासँग एकताको लागि गृहकार्य थालेका छन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको लागि अन्तिम सहमति भएको हल्लाबीच प्रचण्डले बाबुरामलाई अलग राखेर महिन्द्र राय यादव पक्षसँग मात्रै एकता गर्ने सहमति गरेका छन् ।
प्रचण्डले आफूलाई बाइपास गरेर यादव पक्षसँग एकताको लागि सहमति गरेपछि बाबुरामले आफू पक्षधर केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेर प्रचण्डले सत्ताको आडमा राजनीतिक ठगी गरेको भनेर कडा आलोचना गरेका थिए । बाबुराम फेरि वैकल्पिक शक्ति निर्माणमा होमिएका छन् । यसअघि प्रचण्डसँग विद्रोह गरेर माओवादीबाट बाहिरिएका विप्लव भने अहिले प्रचण्डसँग एकताको लागि राजी भएका छन् ।
विप्लव यतिवेला प्रचण्डकै परिकल्पनामा खडा गरिएको समाजवादी मोर्चाको संयोजकको भूमिकामा छन् । विप्लवले सार्वजनिक मञ्चमा समेत माओवादी घटकहरु मिल्नुपर्ने बेला आएको आवश्यकत्ता औंल्याउने गरेका छन् । सँगसँगै उनले मोर्चामा वामपन्थीहरुलाई एकताबद्ध बनाउन पहलसमेत थालेका छन् । यसको लागि उनले हिजोमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर लामै वार्तालाप गरे ।
ओलीले पनि मोर्चामा सहभागी हुन विप्लवले गरेको प्रस्तावलाई सकारात्मक रुपमा लिएको सन्देश प्रवाह भएको छ । आजमात्रै मोर्चाको बैठक बसेको छ । उक्त बैठकले मोर्चामा एमालेलाई सामेल गराउने जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा लगाएको छ ।
विप्लव आज/भोलि प्रायः साँझ-बिहान बालुवाटारमै भेटिने गरेका छन् । उनी र दाहालबीच राम्रो रसायन बनेको चर्चा छ । विप्लव आँफैले पनि माओवादीसँग एकताको नजिक रहेको बताउने गरेका छन् । बाबुरामले सार्वजनिक रुपमै आफ्नो मानमर्दन हुनेगरि आलोचना गरेपछि प्रचण्ड पनि विप्लवलाई पार्टीमा भित्र्याएर आफ्नो शक्ति प्रदर्शन गर्ने मुडमा छन् ।
बालुवाटारनिकट उच्चस्रोतका अनुसार प्रचण्डले यसै साता विप्लव नेतृत्वको नेकपासँग एकताको लागि निर्णायक पहलकदमी लिनेछन् । अहिले विप्लव प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित काठमाडौंमा व्यस्त छन् । दुई नेताले बालुवाटारमा प्रचण्डसँग माओवादीसँगको एकताको खाका बनाउन गृहकार्य थालेको बुझिएको छ ।
विप्लव माओवादीमा भित्रिन लाग्दा वर्षमान पुन र जनार्दन शर्मा भने रुष्ट बनेको बुझिएको छ । विप्लवले साथ छोड्दा आफूहरुले नेतृत्वको रक्षाकवजको भूमिका खेलेको तर अहिले आफूहरुलाई साईजमा राख्नको लागि विप्लव भित्र्याउन लागिएको भनेर पुन र शर्मा रुष्ट बनेको माओवादीभित्र चर्चा सुरु भएको छ ।
तर, पछिल्लो समय वर्षमानले भने विप्लवलाई पार्टीमा ल्याउनको लागि आँफै पहल लिएको पनि चर्चा छ । यी दुई नेताबीच सम्बन्धमा हार्दिकता छ । बेला बेलामा राजनीतिक भेटवार्ता भएका तस्विरसमेत सार्वजनिक भैरहेका छन् । अहिले वर्षमानले अर्थमन्त्रालयको नेतृत्व सम्हालेका छन् । उनी पनि नेकपासँग चाँडै एकता होस भन्ने चाहनासहित सक्रिय छन् । file photo