काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । उनले गृहमन्त्री लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको टिप्पणी गरेका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने–‘‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो ।’
कांग्रेसले रवि लामिछानेमाथि अनुसन्धान भएकोले संसदीय छानबिन समितिको माग गर्दै लगातार सदन अवरोध गरिरहेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले भने सहकारी काण्डमा रवि लामिछानेको कुनै संलग्नता नरहेको स्पष्ट पारिसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रविमाथि संसदीय छानबिन समिति आवश्यक नरहेको बताइसकेका छन् । file photo