Logo

काम गर्न दिइएन भने सरकार छाड्छौंः उपसभापति वाग्ले



काठमाडौं, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले काम गर्न नदिइए सरकार छाडेर जनतामाझ जाने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गर्न नदिइएको वा नसकेको खण्डमा रास्वपा सरकारमा नबस्ने बताएका हुन् ।

आफूहरु काम गर्न सरकारमा गएको दाबी गर्दै उनले भने, ‘काम गर्न नसकिएको र नदिइएको दिन चटक्कै छाडेर हामी जनतासँगै आउनेछौं ।’

साथै, नेता वाग्लेले पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारमा सहभागी भएको दिनदेखि नै देश र जनताको पक्षमा काम गर्न सुरु गरिसकेको दाबी गरे । उनले रास्वपाले संसद्समेत तताएको दाबी गरे । रास्वपाका सांसदको सहभागिता र एजेण्डाको कारण संसद् चलायमान भएको उनको दाबी छ ।

साथै, गृहमन्त्री लामिछानेले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई समेत कारबाहीको दायरामा ल्याएको भन्दै प्रसंशा गरे । उनले महरालाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउनु ठूलो सफलता भएको धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot