Logo

तीन सय वर्ष पुरानो ‘फागु’ गीत संरक्षणमा युवा



गलकोट (बागलुङ), ११ चैत । मज्जाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो‘
‍‍औंला काटी कलम बनावे। रगत के मसिया बनावे‘ यै हो।।
हाय हाय रगत के मसिया बनावे सखियाँ ।
धड्कन लाग्यो छाती हो‘
छाला काटी काजत बनावे। विरहको चिठ्ठी लेखी भेज्यो‘यै हो
हाय हाय विरह को चिठ्ठी लेखी भेज्यो सखियाँ
धड्कन लाग्यो छाती हो‘

हरेक वर्ष फागुपूर्णिमाका अवसरमा बागलुङ बजारको नारायणचोकमा घन्कने फागु गीत हो यो। पछिल्लो समय यहाँका युवा पुराना पुस्ताको नासो संरक्षणमा लागेका छन्।

फागु गीत मादलको तालमा लयबद्ध बनाउँदै गाउँदै होलीको रंगसँग रमाउँदै गाइने गीतलाई जीवन्तता दिन बागलुङका नेवार समुदायका युवायुवती जुटेका हुन्। संरक्षित यही ऐतिहासिक फागु गीतले पछिल्लो पुस्ताका युवायुवतीदेखि बुढाबूढीसम्मको ध्यान तान्दै आएको छ।

मादल र झ्याली बजाउँदै पुराना पुस्ता फागु भट्टाउँछन् भने नयाँ पुस्ता ती भाका छोप्दै गाउँने कार्यले नारायणचोक प्रत्येक वर्ष रंगिने गरेको छ। यहाँका नेवार समुदायले परम्परागत संस्कृतिको संरक्षण गर्दै होली मनाउन नेपाल भाष मंकाः खलःले अग्रसरता लिँदै आएको छ।

नेवार समुदायमा सामूहिक भोजसहित यो गीत गाएर फागु खेलिन्छ। पछिल्लो समय अन्य समुदायका व्यक्तिको उपस्थितिले पर्वलाई थप उत्सहपूर्ण र मर्यादित मनाउँदै लगेको मंकाः खलःका अध्यक्ष मुकेश राजभण्डारीले बताए।

पुरानो गीत पुरानो भाकामा गाउँदै यसपालिको होली उत्साहका साथ मनाउने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको उनको भनाइ छ। पाकादेखि युवा पुस्ताले तीन सय वर्ष पुरानो फागु गीत गाउँदा बागलुङ बजारमा फागुको छुट्टै रौनकता देखिने राजभण्डारीले बताए।

सबै समुदायका व्यक्ति एकैठाउँमा जम्मा भएर, नाच्दै, गाउँदै, रङसँग रमाउँदै यो पर्व मनाउने गरिएको अध्यक्ष राजभण्डारीले बताए। यसरी सभ्य भएर रमाइलो गरिरहँदा संस्कृतिका साथै पुराना परम्परा र लोक भाकासमेत संरक्षण भइरहेको उनको भनाइ छ।

परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मंकाः खलःको आयोजनामा बागलुङ बजारमा तीन सय वर्ष पुरानो फागु गीत बर्सैनि गाइँदै आएको राजभण्डारीले बताए।

‘यो गीतलाई लिपिबद्ध गरेका छौं। पहिला एउटा कपीमा लेखिएको अवस्थामा भेटिएको यो गीतलाई लिपिबद्ध गरेर प्रत्येक वर्ष गाउँदै आएका छौं। पाका पुस्ताले मौखिकरूपमा गाउने गरे तापनि हराउने सम्भावना भएकाले लिपिबद्ध गरेर सुरक्षित गरिएको छ,’ राजभण्डारीले भने, ‘होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको पछिल्लो समयमा मौलिक पहिचान दिने पुराना ‘फागु’ गीत नारयणकोचमा बर्सेनि घन्किँदै आएको छ।’

आजको होलीलाई विशेष बनाउनका लागि खलःले पूर्वतयारी गरेको छ। नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा पनि लिपिबद्ध गरिएको राजभण्डारीले जानकारी दिए।

‘फागु गीतमा बलिराजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छौं, फागुको राग लिन्छौँं, गाउँछौं, भनेर भनिएको छ,’ मंकाः खलःका संस्थापक संयोजक प्राज्ञ प्रेम छोटाले भने, ‘महिला र पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपिनीबीचका मायापिरतीलगायतका भाव गीतमा समावेश गरिएको छ।’

मनको भावनालाई वसन्त राग शैलीमा रंग्याउने गीत नै फागु गीत भएको उनको भनाइ छ।

केही वर्षअघिसम्म सहरबजार र गाउँघरमा ‘फागु’ पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनकता हराउँदै गएकोप्रति यहाँका नेवार समुदाय चिन्तित भएपछि फागु पर्व संरक्षणमा लागिएको संस्थापक संयोजक छोटाले बताए।

‍होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो फागु गीत गाउँदा यहाँका पाका पुरानादेखि युवायुवती आश्चर्यमा पर्ने गरेका छन्। नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध छ।

पछिल्लो समयमा फागु पर्वमा अन्य समुदायलाई समेत समावेश गरिँदै आइएको छ। मंकाः खलःले यहाँका नेवार समुदायका हरेक संस्कृतिको जगेर्नाका लागि नयाँ पुस्तान्तरणमा जोड दिँदै आएको छ। रासस



प्रतिक्रिया दिनुहोस्