सियोल, १२ चैत । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ ।
उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी प्रधानमन्त्री किशिदाले आफ्ना भाइसँग शिखर वार्ता गर्न अनुरोध गरेको सोमबार पुष्टि गरेका हुन् ।
लामो समयदेखि चलिरहेको अपहरण विवाद र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमसहित दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण छ तर किशिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गरेका छन् । प्योङयाङले जापानी प्रधानमन्त्री किशिदाको आग्रहबारे कुनै औपचारिक प्रतिक्रिया दिइनसकेको जनाएको छ ।
गत वर्ष किशिदाले उत्तर कोरियाली समूहले सन् १९७० र १९८० को दशकमा जापानी नागरिकको अपहरण गरेको घटनालगायत सबै समस्या समाधान गर्न टोकियो इच्छुक रहेको भन्दै आफू बिनाशर्त किमसँग भेट्न तयार रहेको बताएका थिए । रासस