Logo

भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी



वीरगञ्ज (पर्सा), १४ चैत । पर्सामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु भएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला शाखा पर्साले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्ने तयारी थालेको हो । आयोगले प्रक्रिया थालेपछि भूमि प्राप्तिका लागि पर्सामा छ हजारभन्दा बढीको नाम सूचीकृत गरेको छ ।

विभिन्न पालिकामा भूमिहीन दलित एक हजार तीन सय ६३, भूमिहीन सुकुम्बासी दुई हजार पाँच सय ७७ र अव्यवस्थित बसोबासी दुई हजार नौ सय ४९ गरी छ हजार आठ सय ८९ जनाको नाम सूचीकृत भएको राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहम्मदले जानकारी दिए ।

आयोगमा सूचीकृत भएकामध्ये सबैभन्दा बढी ठोरी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी र बहुदरमाई नगरपालिकामा छन् । अध्यक्ष अहम्मदका अनुसार सबैभन्दा बढी ठोरी गाउँपालिकामा भूमिहीन दलित २६, भूमिहीन सुकुम्बासी एक हजार सात सय ४० र अव्यवस्थित बसोबासीमा एक हजार नौ सय छजनाको नाम सूचीकृत भएको छ ।

यस्तै, पर्साको पर्सागढीमा भूमिहीन दलित सात सय ७२, भूमिहीन सुकुम्बासी तीन सय ५७ अव्यवस्थित बसोबासीमा पाँच सय ५४ को नाम सूचीकृत भएको अध्यक्ष अहम्मदले बताए । पर्साका अन्य पालिकाबाट विवरण आउन बाँकी रहेको उनको भनाइ छ । अध्यक्ष अहम्मदका अनुसार सूचीकृत भएका आगामी वैशाखमा पर्साका एक सय ५७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी भइरहेको छ ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी थाले पनि स्थानीय तहले लागत सङ्कलनलगायत कार्यमा सहयोग नगरेकाले अपेक्षाकृत रुपमा कार्य अघि बढाउन नसकिएको अध्यक्ष अहम्मदको गुनासो छ । रासस



प्रतिक्रिया दिनुहोस्