Logo

न्यून परीक्षण हुँदा क्षयरोगका बिरामी पत्ता लगाउन सकस



त्रिवेणी (रुकुमपश्चिम), १४ चैत । रुकुमपश्चिममा क्षयरोग (टिबी) परीक्षण गर्नेको सङ्ख्या न्यून रहेको पाएको छ । राष्ट्रिय क्षयरोग सर्वेक्षणको सर्वेअनुसार जिल्ल्लामा तीन सय ९० जना क्षयरोगका बिरामी हुनेसक्ने तथ्याङ्क सार्वजनिक गरेपनि परीक्षण गर्नेको सङ्ख्या एक सय २१ रहेका छन् ।

परीक्षण गर्नेको सङ्ख्या न्यून हुँदा क्षयरोगका बिरामी पत्ता लगाउन सकस भएको स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०८०र८१ मा तीन सय ९० बिरामी पत्ता लगाउने लक्ष्य रहे पनि फागुनसम्म लक्ष्यको २८ दशमलव ७१ प्रतिशत अर्थात एक सय १२ मात्र पत्ता लागेका छन् ।

बिरामीले रोग देखाउन लाज मान्ने, परीक्षणको दायर न्यून हुनु, स्वास्थ्य पहुँच कम हुनुलगायत कारणले परीक्षण गर्नेको सङ्ख्यामा कमी भएको खड्काको भनाइ छ । क्षयरोगका बिरामीलाई चेकचाँच तथा उपचार लगायत सबै सेवा निःशुल्क भए पनि परीक्षण गर्ने कम हुँदा बिरामी पत्ता लगाउन समस्या हुने गरेको उनले बताए । उनका अनुसार चालु आवको हालसम्म पत्ता लागेका बिरामीको उपचार भइरहेको छ ।

जिल्लामा गत आवमा एक सय ६९ बिरामी भेटिएका थिए । जसमध्ये सात जनाको क्षयरोगका कारण मृत्यु भएको खोप सुपरभाइजर अधिकृत खड्काले जानकारी दिए । उनका अनुसार चालु आवमा क्षयरोगका कारण दुई जनाको मृत्यु भएको छ ।

“क्षयरोग फोक्सो र अन्य अगङ्समेतमा लाग्ने गर्दछ । यससम्बन्धी सर्वसाधारणलाई जानकारी नहुँदा परीक्षण गर्नेको सङ्ख्या कम हुने गरेको छ । फोक्सोमा मात्र क्षयरोग लाग्छ भन्ने बुझाइ भएकाले पनि परीक्षण गर्ने सङ्ख्यामा कमी देखिएको हुन सक्छ”, खड्काले भने ।

परीक्षण गर्नेको सङ्ख्या न्यून हुँदा परीक्षण गर्ने मेसिन प्रयोग विहीन भएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक कालिबहादुर ओलीले बताए । ‘माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको कारण क्षयरोग सर्ने गर्दछ । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्यू गर्दा निरोगी व्यक्तिमा रोग सर्ने जोखिम हुने भएकाले सचेत हुनुपर्ने व्यवस्थापक ओलीले बताए ।

हाल जिल्लामा ३२ वटा डट्स केन्द्र, चार माईक्रोसकोपी केन्द्र, एक जिनएक्सपर्ट केन्द्र र एक डिआर सब सेन्टरबाट क्षयरोग उपचार तथा निधान भइरहेको स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्