Logo

ज्येष्ठ नागरिक सरोकार केन्द्रका काम प्रभावकारी : मन्त्री शर्मा



घोराही (दाङ), १५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएका बताएकी छन् ।

घोराही उपमहानगरपालिका–१६ तेरौंटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा आज भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिकका लागि केन्द्रले गर्दै आएको काम निकै प्रभावकारी रहेको बताइन् । उनले यसलाई अझ व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

त्यस अवसरमा मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई केन्द्रले दिएको आवासीयसहितको सेवाले उनीहरुलाई जीवनयापनमा निकै सहज भएको धारणा राखिन्।

कतिपय अवस्थामा कामको व्यस्तता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुट्टिएर बस्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक एक्लिरहेको बताइन् । ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भए पनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेको र आश्रममा लगेर छाडेका घटना आउने गरेका उल्लेख गर्दै उनले त्यस्ता घटनालाई रोकेर सकेसम्म परिवारमै माया ममता दिएर राख्न आवश्यक रहेको बताइन् ।

पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सबै निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले ज्येष्ठ नागरिक सरोकार केन्द्रमा रहेको पार्कलाई व्यवस्थित गर्नेलगायत अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक पहलका लागि आफ्नातर्फबाट कोसिस रहने बताइन् । रासस



प्रतिक्रिया दिनुहोस्