Logo

एमाले नेता थापाको टिप्पणीः रास्वपाले इलाम-२ मा उम्मेदवारसमेत सापटी लियो



काठमाडौं, १७ चैत । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारसमेत सापटी लिएको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले इलाम नेकपा (एमाले) को पक्षमा निरन्तर सतिसालझैं उभिइरहेको र सापर्टी लिइएका उम्मेदवारले कुनै असर नपर्ने बताएका हुन् । अहिले इलाम–२ मा उठाइएका उम्मेदवारहरु एमालेसँगको प्रतिस्पर्धामा भन्दा पनि चुनावमा भाग लिन उद्देश्यले मात्रै उठाइएको उनको दाबी छ ।

‘इलाम त्यस्तो ठाउँ हो, २०६२/०६३ सालको आन्दोलनपछि ०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा सिंगो देशमा माओवादीको दब्दवाहको बेलामा पनि इलाम सतिसालजस्तै ठिङ्ग नेकपा (एमाले) को पक्षमा उभिएको थियो । अहिले पनि विभिन्न बान्कीमा उम्मेदवारहरु जो–जो घोषणा भएका छन्, ती उम्मेदवारहरु हेर्नुभयो भने नेकपा (एमाले) सँग प्रतिस्पर्धा गर्ने भन्दा पनि चुनावमा भाग लिने ढंगले उम्मेदवारहरु घोषणा भएको देख्न सकिन्छ ।’ उनले भने, ‘सुत्दा एउटा पार्टीमा छ, उठ्दा अर्को पार्टीमा पुगेर उम्मेदवारहरु घोषणा भएका पनि छन् । यो खाल्को संकट साथीहरुको छ । विभिन्न पालिकामा पुगेर पर्यटन प्रवद्र्धन गरेर उहाँ (रास्वपा) का सांसद फर्किसक्नु भएको थियो । संगठन पनि छैन, केही पनि छैन । उम्मेदवार पनि सापटी लिएर उठाउने स्थिति सिर्जना भएको छ । सापटीले जिन्दगी के चल्छ ?’

रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई इलामका मानिसहरुले कहिले माओवादीको रुपमा र कहिले कसको रुपमा चिनिसकेको र उनी कुनै नयाँ नरहेको थापाको टिप्पणी छ । अहिले लिम्बूले स्वतन्त्र पार्टीको नयाँ लुगा लगाएर चुनावी मैदानमा गएको उनको टिप्पणी छ । लिम्बु यसअघि नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको सचिव थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot