Logo

यसपटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू नयाँ रक्तसञ्चार तय गर्नेछ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पछिल्लो राजनीतिक कदमले देश र जनतामा नयाँ उत्साह थपिएको दाबी गरेका छन् । उनले कांग्रेससँगको सहकार्य तोडेर एमालेसहितका दलसँग गरेको सहकार्यलाई संकेत गर्दै यस्तो भनेका हुन् ।

रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूले सकेसम्म देश र जनताको हितको लागि सबै दललाई विश्वासमा लिएर राष्ट्रिय सहमति कायम गर्नको लागि भूमिका खेलेको पनि दाहालको दाबी छ ।

उनले भने,‘म रिपोर्टर्स क्लबलाई बधाई भन्न चाहन्ुछ । अझ धेरै सफलताको निम्ति शुभकामना व्यक्त गर्न चाहन्छु । अघि यहाँ ऋषिजीले स्वागत मन्तव्य राख्दै गर्दा चाहिनेभन्दा बढि भन्नुभयोजस्ता पनि लाग्ने, कतिपय बेला ठीकै भन्नुभयो होला भनेजस्तो पनि लाग्ने । संघर्ष गर्दै क्लब राष्ट्रियस्तरमा नै स्थापित भयो । उहाँले बोल्दाबोल्दै मलाई शान्ति प्रक्रिया टुँगो लगाउन एकातिर ओली र अर्कोतिर देउवा राखेर सहमति बनाउन भन्नुभयो नभन्दै यहाँबाट गएर आजै साढे ५ बजे तीनै जना हामी एक ठाउँमा बस्दैछौं । मेरो कोशिस सकेसम्म सबै दललाई एक ठाउँमा ल्याएर सहमति बनाउनु नै हो ।’

उनले कतिपय अवस्थामा आफू एमालेसँग नजिक हुँदा कांग्रेसजनलाई र कांग्रेससँग नजिक हुँदा एमालेका साथीहरुलाई नमिठो लागेको पनि यथार्थ सुनाए । उनले भने,‘तर, हामीले भन्ने गरेको बिग ६, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राष्ट्रियसभाको अध्यक्ष यसरी हेर्यो भने मलाई चाहीँ गर्व छ । यसले के देखाउँछ भने राष्ट्रिय सहमतिको वातावरण बनाउने नै काम गरेका छौं । पत्रकार साथीहरुलाई म राष्ट्रिय सहमतिको वातावरण बनाउनको लागि आग्रह गर्दछु ।’

प्रधानमन्त्री दाहालले मुलुकलाई चाहिएको सुशासन र समृद्धिको लागि त्यहीअनुसार आफ्नो भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरे । उनले भने,‘अब सुशासन र विकासको लागि राष्ट्रिय सहमति चाहिएको छ । मैले गएको वर्षदेखि लगातार सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा केही न केही मानक स्थापित गर्ने कोशिस गरेको छु, अन्तर्राष्ट्रिय जगतमा नेपाली जनतको आवश्यकत्ता सम्बोधन गर्ने कोशिस गरेको छ् । अहिले नयाँ शीराबाट त्यो प्रयासलाई अघि बढाउँदैछौं । मेरो प्रयासलाई सबैले सकारात्मक रुपमा लिएको हेरेको छु ।’

उनले विभिन्न राजनीतकि घट्नाक्रममा क्लब साझा मञ्च बनेको बताए । उनले भने,‘क्लब बास्तवमा सबै नागरिकको साझा मञ्चजस्तै भएको छ ।’ सो अवसरमा प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा फेरबदल ल्याउने घोषणा गरे । उनले भने,‘मैले बजेट निर्माणको प्रक्रियामा फेरबदल ल्याएर देश र जनताको हितमा केन्द्रित गर्ने भनेको छु । योपटक बजेट नयाँ तरिकाले तयारी गरिँदैछ । यसपटकको बजेटले तीन करोडभन्दा तलको आयोजनामा हात नहाल्ने भनेका छौं । यो पटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू नयाँ रक्तसञ्चार तय गर्नेछ ।’



प्रतिक्रिया दिनुहोस्