सङ्खुवासभा,१७ चैत । सङ्खुवासभा र भोजपुरलाई जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीमा फेरी बन्द भएपछि यातायात सेवा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो गाडी तार्ने क्रममा फेरीको लठ्ठा (तार) मा समस्या देखिपछि यातायात सेवा अवरुद्ध भएको हो । फेरी बन्द भएपछि भोजपुर जिल्लामा दैनिक उपभोग्य सामग्री आयात तथा आवतजावतमा समस्या उत्पन्न भएको छ ।
चार वर्षअघि निर्माण गरिएको फेरीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि सङ्खुवासभा र भोजपुर यावतजावत ठप्प भएको षडानन्द नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँले जानकारी दिए । उनकाअनुसार अवरुद्ध फेरी सञ्चालनमा ल्याउन अझै दुई साता लाग्ने र यसका लागि पहल भइरहेको छ ।
फेरी बन्द भएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पा सिलिच्छो गाउँपालिका जाने दर्जनौँ गाडी अरुण नदीमा अलपत्र परेका छन् । अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम हो । सो नदीमा निर्माणाधीन अवस्थामा रहेको दुईवटा पक्की पुल पनि अझै निर्माण सम्पन्न हुनसकेको छैन ।
अरुण नदीको सतिघाट अरुण नदीमा फेरी निर्माण भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका ७० हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन् । फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको थियो ।
सङ्घीय सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय वटाजति साना–ठूला सवारीसाधन आवतजावत गर्दै आएका थिए । file photo