Logo

समयमै कर तिरी कर्तव्य पूरा गर्नुपर्छः अध्यक्ष बिजुक्छेँ



भक्तपुर, १७ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनताले सरकारलाई तिर्नुपर्ने कर समयमै तिरी आफ्नो कर्तव्य पूरा गर्नुपर्ने धारणा राखेका छन् ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा आज भएको सम्मान कार्यक्रममा उनले जनताले राज्यलाई कर छल्ने वा कर ढिलो तिर्ने र नतिर्नेजस्ता कार्य गर्न नहुने बताएका हुन् ।

उनले राज्य वा आफू कार्यरत संस्थालाई नोक्सान हुने काम गर्नेलाई दण्ड जरिवानाको व्यवस्था गर्नुपर्ने बताउँदै देशकै सानो जिल्ला भक्तपुरलाई ‘टेष्टट्युव’का रूपमा विकास गर्न सकिने बताए । कार्यक्रममा भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका १५ र सेवानिवृत्त आठ गरी २३ जना कर्मचारीलाई सम्मान गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारी राम्रा भए जनताले सहज सेवा पाउने बताउँदै संस्थालाई गलत दिशामा लानबाट रोक्न कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने बताए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवा, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाललगायतले राजनीतिक रूपले सचेत कर्मचारीले मात्रै देश र जनताको हितमा काम गर्नसक्ने बताए । 



प्रतिक्रिया दिनुहोस्

Screenshot