काठमाडौं, १७ चैत्र । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिले अर्थतन्त्रमा दशा लागेको दाबी गरेका छन् । उनले अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्दै सही ट्रयाकमा ल्याउनुपर्नेमा जोड दिए । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सांसद सिंहले यस्तो बताएका हुन् ।
उनले भने–‘आज एउटा राष्ट्रिय दैनिकमा न्यायपालिकाको सन्दर्भमा सम्पादकीय छ । न्यायपालिकाको नियुक्ती प्रक्रियादेखि न्याय सम्पादनसम्म पनि व्यक्ति व्यक्तिअनुसार फरक छ । पहुँचअनुसार फरक छ । यसले जनताको विश्वास कहाँ लग्छ ? जसरी सरकारले पनि पहुँचको आधारमा विभिन्न निर्णय गर्छ , त्यसैगरि न्यायपालिकाले गर्न थाल्यो भने त्यसमा प्रश्न उठ्नु आँफैमा दुःखद् कुरा हो ।’
उनले सर्वोच्च अदालतका न्यायाधीशहरुको मोवाईल रेकर्ड मनिटरिङ हुनुपर्ने माग गरे । उनले भने,‘सर्वोच्च अदालतका न्यायाधीशहरुको मोवाईल रेकर्ड मनिटरिङ हुनुपर्छ, कि कुन नेताको पहुँच र प्रभावको आधारमा निर्णय प्रभावित हुने गर्छ भनेर । न्यायापालिकामा नियुक्ती भागबण्डामा भैरहेको छ । तर, भागबण्डामा निर्णय गर्ने कुरा दुःखद् हो । यसले देशको न्याय प्रणालीमाथि नै प्रश्न उठाउँछ ।’