Logo

शिक्षक दरबन्दी वितरणमा धाँधली भएको भन्दै प्रभु साहले गराए सरकारको ध्यानाकार्षण



काठमाडौं, १८ चैत । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले शिक्षक दरबन्दी वितरणमा धाँधली भएको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौंमा १३ जना विद्यार्थी बराबर एक जना शिक्षकको दरबन्दी रहेको बताए । सोही शिक्षक दरबन्दी रौतहटमा भने ८० विद्यार्थी बराबर एक शिक्षक रहेको उनको भनाइ छ ।

विद्यार्थीको जीवनसँग खेलबाँड भइरहेको भन्दै उनले संसद्को ध्यानाकार्षण गराए । शिक्षकको दरबन्दी वितरणमा धाँधली भएको उनको आरोप छ । उनले यस्तो कार्यलाई सामान्य अपराधको रुपमा लिन नहुने बताए ।

तराई र मधेशका विद्यालयमा ५० जना विद्यार्थी बस्ने कोठामा दुई/दुई सय विद्यार्थी राखेर अध्ययन अध्यापन भइरहेको उनले बताए । यसरी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन उनले ध्यानाकार्षण गराए ।

‘आज तराई, मधेशका स्कूलहरुमा एउटा कक्षाकोठामा दुई÷दुई सय विद्यार्थीहरु कोचिएको छ । त्यसको जवाफ कसले दिन्छ ? शिक्षक दरबन्दीको वितरण हेर्ने हो भने हृदयविदारक देखिन्छ । बागमती प्रदेशमा १८ विद्यार्थी बराबर एउटा दरबन्दी वितरण भएको देखिन्छ । यही कुरा मधेशमा हेर्ने हो भने मधेशमा ७१ विद्यार्थीमा एउटा टिचर देखिन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot