Logo

संसद्मा कांग्रेसको अडान कायमै, गृहमन्त्री लामिछानेमाथिको आरोप संसदीय समिति बनाएर छानविन गर्न माग



काठमाडौं, १९ चैत । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसद्मा विरोध जनाएको छ । प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै कांग्रेसले विरोध जनाएको थियो । सोही क्रममा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रतिमा गौतमलाई समय दिएका थिए ।

सांसद गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको भन्दै राजीनामा दिएर छानविनमा सहयोग गर्न आग्रह गरिन् । सांसद् गौतमले पूर्व अर्थमन्त्रीहरु रामशरण महत, जनार्दन शर्मालगायतले आफूमाथि लागेको आरोप छानविनका लागि राजीनामा दिएर सघाएको स्मरण गराउँदै नैतिकताको आधारमा सहयोग गर्न आग्रह गरिन् । प्रतिपक्षको आवाजलाई सरकारले अनदेखा गरेमा प्रतिरोधमा उत्रिनेसमेत उनले चेतावनी दिईन् । संसदीय समिति कांग्रेसका सांसद्मात्रै बसेर बन्ने नभएकाले धेरै डराउन पर्ने कुरा नरहेको उनको भनाइ छ ।

‘संसदीय समिति बनाऔं । छानविन गरौं, अनुसन्धान गरौं । दोषी हुनुहुँदो रहेछ भने कारबाहीको दायरामा जानुहोला । दोषी हुनुहुँदोरहेन छ भने फेरि गृहमन्त्री भएर संसद्मा आउनुहोला । हामी उहाँलाई सघाउने छौं । आरोप लाग्दैमा राजीनामा दिनुपर्छ भन्ने नहोला । तर, आरोप प्रहरी प्रशासनको जसले नेतृत्व गर्छ, ऊ माथि लागेको छ । त्यसैले अनुसन्धान हुनजेल गृहमन्त्रीज्यूले आफ्नो जिम्मेवारीबाट बाहिर बसौं,’– सांसद गौतमले भनिन् ।

साथै, गोर्खा मिडिया नेटवर्कले सहकारीको कति पैसा लगेको हो ? उक्त कुराको निर्क्यौल गर्ने गरी छानविन हुन जरुरी रहेको उनको भनाइ छ । उनले गैरकानुनी ऋण लिनेमा गृहमन्त्री लामिछानेको सहमति थियो वा थिएन भन्ने कुरा यकिन हुनेगरी छानविन गर्न आग्रह गरिन् । प्रतिपक्षलाई अब कुनै बहानाबाजी सह्य नहुने उनले बताईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot