Logo

ऋषिङलाई जातीय छुवाछूतमुक्त बनाइने



तनहुँ, २० चैत । “जातीय विभेद गर्न हुँदैन भनेर भाषण गरेर मात्रै समाजबाट छुवाछूत हट्दैन”, ऋषिङ गाउँपालिका–३ दुवुङस्थित मगर गुठ समाजका अध्यक्ष लालबहादुर आलेमगरले भने, “सबै जात एउटै हो भन्ने कुरा अब व्यवहारमै देखिनुपर्छ । बल्ल जातीय विभेद र छुवाछूतमुक्त समाज बनाउन सकिन्छ ।”

ऋषिङ गाउँपालिकाको कार्यालयले पालिकालाई जातीय विभेद र छुवाछूतमुक्त बनाउने अभियानमा गरिएको सुझाव सङ्कलनका क्रममा गुठी समाजका अध्यक्ष आलेमगरले आफूहरुले जातीय विभेद र छुवाछूतमुक्त समाज बनाउन गुठ समाजमा दलितहरु समेत मिसाएको बताए । दुवुङमा रहेका ६५ घर मगरहरुसँगै छ घर दलितलाई समावेश गरेर मगर गुठ बनाइएको अध्यक्ष आलेमगरको भनाइ छ ।

ऋषिङ गाउँपालिकालाई जातीय विभेद र छुवाछूतमुक्त बनाउने अभियानका क्रममा ऋषिङ १, २, ३, ४ र ५ मा सर्वपक्षीय कार्यक्रम गरिसकिएको पालिकाले जनाएको छ । अभियानका क्रममा दलित, शिक्षक, महिला, कर्मचारी, जनजातिलगायत सँग परामर्श, छलफल गरिएको थियो ।

ऋषिङ–१ झापुटारमा वडाअध्यक्ष कुशबहादुर थापा, ऋषिङ–२ काहुँशिवपुरमा वडाअध्यक्ष दलबहादुर थापा, ऋषिङ–३ दुवुङमा वडाअध्यक्ष भीमबहादुर थापा, ऋषिङ–४ भिरकोटमा वडाअध्यक्ष प्रेमराज श्रेष्ठ र ऋषिङ–५ राम्जाकोटमा वडाअध्यक्ष बुद्धिमान रानामगरलगायत पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, पालिका उपाध्यक्ष गिनुमाया थापा र पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटलगायतले सहभागीबाट उठेका जिज्ञासाको समाधान र सुझावअनुसार आगामी कार्यक्रम तय गर्न आफूहरु प्रतिबद्ध रहेको बताएको कार्यपालिका सदस्य दिलबहादुर नेपालीले बताए ।

समाजको कलङ्कका रुपमा रहेको जातीय विभेद र छुवाछूतलाई हटाउन आफूहरुको साथ र सहयोग रहने ऋषिङ–१ झापुटारस्थित शुक्ला माविका प्रधानाध्यापक केशर थापामगरले बताए । “ऋषिङ गाउँपालिकाको कार्यालयले छुवाछूत हटाउन गरेको कार्यक्रमलाई सकारात्मक रुपमा लिएको छु”, प्रधानाध्यापक थापामगरले भने, “वैज्ञानिक समाजमा पनि जातीय विभेद हामीले मान्ने कुरा हुँदैन । यसलाई हटाउन सबै जुट्न आवश्यक छ ।”

दलित समुदायलाई मात्रै भेला गरी कार्यक्रम गर्दा प्रभावकारी नहुने भएकाले दलित र गैरदलितसहितको कार्यक्रम गरी छुवाछूत र जातीय विभेद अन्त्य गर्न छलफल गरिएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । पालिकालाई पाँच वर्षभित्र छुवाछूत र जातीय विभेदमुक्त बनाउन विद्यालय, स्वास्थ्य संस्था र समुदायस्तरबाट अभियान व्यापक गर्ने गरी छलफल थालिएको पालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

आफू जहिल्यै ऋषिङको जनताको आवश्यकता र विकासको पक्षमा रहेकाले कहिल्यै ऋषिङको जनता र विकासप्रति धोका र घात नगर्न प्रतिबद्ध रहेको अध्यक्ष श्रेष्ठको प्रतिबद्धता छ । “जातीय विभेद र छुवाछूतलाई साथमा लिएर समृद्ध ऋषिङ गाउँपालिका बनाउन सकिने कुरा भएन”, अध्यक्ष श्रेष्ठले भने, “त्यसैले सबै वडाबाट छुवाछूत र जातीय विभेदविरुद्धको अभियान थालेका हौँ ।”

अभियानका क्रममा शिक्षक, विद्यार्थी, युवा, महिला, दलितलगायत अपाङ्गता भएकाहरु, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग समेत परामर्श गरिएको र सोही सल्लाह, सुझावअनुसार आगामी कार्यक्रम तय गरिने पालिका अध्यक्ष श्रेष्ठको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्