Logo

चुरिया संरक्षणको नाममा अरबौं बजेट लुटिएको प्रभु साहको आरोप, काठमाडौंका शासकमाथि यसरी खनिए (भिडिओसहित)



काठमाडौं, २० चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बाढीले भत्काएका बाँधहरु र पूर्वाधारहरु अझैपनि निर्माण हुन नसकेको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् । आज (मंगलबार) बसेको प्रतिनिधिसभामा बोल्दै सांसद साहले गत वर्षको असार/साउनका बाढीले तहसनहस भएका संरचनाहरु अझैपनि पूननिर्माण हुन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

उनले भने,‘खासगरेर रौतहटका बकैया र बाग्मतीका बाँधहरु गत वर्षका बाढीबाट तहसनहस भएका छन् । त्यतिवेला राजदेवीलगायतका गाउँहरु जलमग्न थिए । गाउँलेहरु डुबानमा थिए । अझैसम्म पनि बन्ने छाँटकाँट देखिएको छैन् । तराई/मधेशमा करिब करिब सबैतिर यस्तै अवस्था छ । कि त भत्किएका छन्, कि भत्किने चरणमा छन् । तर, सरकार कानमा तेल हालेर बसेको छ । सरकार त बास्तवमा सुतेर बसेको छ । के यो मानवीय दायित्वसँग जोडिएको विषय होईन र ? तराई जलमग्न हुँदा हामीहरुले के टिभीमा हेरेर मजा लिने हो ? कि त्यसमा हाम्रो दायित्व पनि बन्छ ? हामी सबैलाई थाहा कि पहाडको पानीले तराई जलमग्न हुन्छ । के यसमा पहाडको नेताहरुको दायित्व होईन र ? काठमाडौंको पानीले रौतहट तहसनहस हुन्छ, के यसमा काठमाडौंका राजा महाराजाहरुको त्यो दायित्व होईन र ? अहिले सरकारको ओहोदामा बस्नेहरुले ती बाँधहरु पूरा नगर्दा कुन नैतिकताले त्यो ओहोदामा बस्न मिल्छ ? म यसमा माननीय मन्त्रीजीको जवाफ चाहन्छु । के तपाईंहरु फेरि वर्षाको याममा इमर्जेन्सीको नाममा त्यही लुट्नको लागि हो ? होईन भने अहिले किन बनिरहेको छैन् ?’

उनले तराई/मधेशका लागि बाढी त अभिषापसिद्ध भएको टिप्पणी गरे । उनले काठमाडौंका शासकहरुको कारण तराई तथा मधेशका मान्छेहरुले बाढीबाट डुबेर मनुपर्ने अवस्था रहेको भन्दै सरकारमाथि आक्रोश पोखे । अहिलेसम्म गत असारमै भत्किएका बाँधहरु नबनाईएकोमा साहले चिन्ता व्यक्त गरे ।

उनले मौसम परिवर्तनको कारण तराई/मधेशमा पानीको सतह सुक्दै गएको बताए । साहले अवैध उत्खनन अहिलेपनि जारी रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकार्षण गराए । अहिले तराईको पर्यावरण पनि तहसनहस र बिग्रिएको साहको आरोप छ। साहले चुरिया संरक्षणको नाममा अरबौं बजेट लुटिएको गम्भीर आरोप लगाए । उनले भने,‘चुरिया संरक्षणको नाममा बजेट बाँडफाँट हुन्छ । लुट हुन्छ । चुरिया संरक्षण के भैरहेको छ भनेर हामी जान्न चाहन्छौं ।’ file photo



प्रतिक्रिया दिनुहोस्