काठमाडौं, चैत २१ । काठमाडौं महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ ।
महानगरपालिका शिक्षा विभागले आज एक सार्वजनिक सूचना प्रकाशित गरी महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको हो ।
शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५ र ९१० तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको महानगरले स्मरण गराएको छ ।
महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम यो व्यवस्थाको प्रतिकुल देखिएकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र महानगरस्थित शिक्षा विभागमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।
सात दिनभित्रमा सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउनेसहित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरको शिक्षा विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।