Logo

क्षयरोगमुक्त अभियानमा पालिकाको सक्रियता



बलेवा (बागलुङ), २२ चैत । पछिल्लो समय बढ्दो सङ्ख्यामा रहेका क्षयरोग न्यूनीकरणमा पालिकाहरूले काम थालेका छन् । गलकोट नगरपालिकाले भने क्षयरोगमुक्त अभियानका लागि पालिका र वडास्तरीय दर्जन बढी गतिविधि सञ्चालन गरिसकेको छ ।

जिल्लामा सबैभन्दा सङ्क्रामक रूपमा देखिएको बडिगाड गाउँपालिका र त्यससँगै जोडिएकाले गलकोटले बढी चासो दिएर काम गरेको स्वास्थ्य शाखा प्रमुख मीरा शर्माले बताए । गलकोटले पालिकास्तरीय अभिमुखीकरण, वडा र पालिकास्तरीय क्षयरोगमुक्त समिति गठन गरेको हो ।

ती समितिले सघन रूपमा क्षयरोगीको खोजी गर्ने, उपचारको दायरामा ल्याउने र पालिकालाई मुक्त बनाउने काम गर्ने छ । गलकोटका सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले क्षयरोगलाई गम्भीर रूपमा लिएर उपचारको दायरामा ल्याउन सबै सक्रिय भइसकेको बताए ।

“हामीले सुक्ष्म रूपमा यो रोगको खोजी गरेर उपचारको दायरामा ल्याउन खोजेका छौँ”, भण्डारीले भने, “आम नागरिकलाई पनि यो रोगका समस्याबारे जानकारी दिँदैछौँ ।” नगरपालिकाले जनस्वास्थ्य निरीक्षक मनिष राजभण्डारी नियुक्त गरेर क्षयरोगको मात्रै विशेष अध्ययनको काम थालेको हो ।

गलकोटमा अघिल्लो वर्ष २५, गत वर्ष १५ र चालु वर्षको फागुन मसान्तसम्म ११ क्षयरोगी भेटिइसकेका छन् । क्षयरोग लागेको व्यक्तिले श्वासप्रश्वासबाट २५ जनासम्मलाई सार्न सक्ने भएपछि यो भयावह बन्न नदिन पालिकाले चासो बढाएको शर्माले बताए ।

चालु वर्षको आठ महिनामा बागलुङमा कुल दुई सय २७ क्षयरोगी भेटिएका छन् । तीमध्ये बडिगाडमा मात्रै एक सय ३० जना भेटिएका हुन् । गत वर्ष जिल्लामा दुई सय ३५ क्षयरोगी भेटिएका थिए । आर्थिक वर्ष २०७८÷७९ मा यो सङ्ख्या एक सय ८५ थियो । आव २०७७/७८ मा एक सय ३५ मात्रै क्षयरोगी थिए । पहिलो आठ महिनामै यतिधेरै सङ्ख्या पत्ता लागेपछि चालु आवमा यो ग्राफ अझै बढ्ने स्वास्थ्यकर्मीको चिन्ता छ ।

समूहमा बस्ने, रोगीका परिवार र ज्येष्ठ नागरिकमा यो सङ्क्रमणको दर उच्च रहने गरेको भेटिएको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । उपचार र परीक्षणको पहुँच बढ्दै जाँदा क्षयरोगीको ग्राफ बढिरहेको हो ।

“तोकिएका स्थानका शङ्कास्पद बिरामीमात्रै परीक्षण गरेका हौँ, खोजपडताल प्रभावकारी भयो भने यो अङ्क भयावह देखिन सक्छ”, घिमिरेले भने, “क्षयरोगकै कारण चालु आवमा चार जनाले ज्यान गुमाइसकेका छन् ।”

औषधि प्रतिरोधक क्षयरोगको परीक्षण गर्न सकिने अत्याधुनिक मेसिन बागलुङमा जडान भएपछि परीक्षणको दायरा बढेको छ । परीक्षण गर्न पाएपछि घरभित्र बसेका महिलामा समेत सङ्क्रमणको दर उच्च देखिएको हो । परीक्षण भएकाहरूले खुलेर जानकारी नदिने र औषधि सेवनमा लापरबाही गर्दा सङ्क्रमण फैलिएको अनुमान छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot