Logo

सीमावासीको गुनासो सुन्दै सशस्त्र प्रहरी बल



राँझा (बाँके), २३ चैत । बाँकेमा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका बासिन्दाका समस्या र गुनासो सुन्न सीमा सहजीकरण समिति गठन गरेको छ ।

सीमावासीको समस्या र गुनासा सुन्दै सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण एवं गैरकानुनी गतिविधि नियन्त्रण गर्न जनस्तरबाटै पहल गर्न समिति गठन अभियान सुरु गरिएको सशस्त्र प्रहरी बल नं ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए ।

“सीमा क्षेत्रबाट हुने अपराध तथा तस्करी नियन्त्रणका गर्न स्थानीय जनताको साथ सहयोग र समन्वयका लागि सीमा सहजीकरण समिति गठन गरिएको हो”, सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने, “यसले जनतासँग सशस्त्र प्रहरी बलको घुलमिल र सीमा क्षेत्रका समस्या पहिचान गर्न सहज भएको छ ।”

बाँकेमा सीमावर्ती क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका–१५ मा जनप्रतिनिधि, नागरिक अगुवालगायतको सहभागितामा समिति गठन गरिएको छ । सीमा क्षेत्रमा पर्ने जानकी गाउँपालिका, खजुरा गाउँपालिका, डुडुवा र नरैनापुर गाउँपालिकाका वडामा पनि सीमा सहजीकरण समिति गठन गर्ने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।

बाँकेमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नं ३० बागेश्वरी गणअन्तर्गत १० बोर्डर आउट पोष्ट ९बिओपी० रहेका छन् । प्रत्येक बिओपीमा सीमा सहजीकरण समिति गठन गर्ने नीति रहेको छ ।

बाँकेको करिब ६५ किलोमिटर भारतसँग जोडिएका खुला सीमा छ । त्यसको हरेक तीन/तीन किलोमिटर दूरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) तैनाथ छ । सीमा सहजीकरण समितिले सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने सशस्त्र प्रहरी उपरीक्षक डाँगीको भनाइ छ ।

बाँकेमा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सीमा पैदल गस्ती परिचालन गरिएको छ ।

यो गस्तीले सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय तथा सहकार्यमासमेत सहयोग पुग्नेछ । सीमा गस्तीअन्तर्गत प्रस्तावित सीमासुरक्षा गुल्म, बिओपी र बेसहरूसमेतको जनशक्ति समावेश गरेर सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामग्रीसहित परिचालित भइरहेको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot