काठमाडौं, चैत २४। नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले एक सूचना सार्वजनिक गर्दै ३५ वर्ष पुरा गरेर ६० वर्ष नकाटेका इच्छुक नेपाली नागरिकलाई १२ दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको छ ।
सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ । आवेदक स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । हाल नेपाल पर्यटन बोर्ड दुई महिनादेखि नेतृत्वविहीन छ । बोर्डको सिइओबाट डा. धनञ्जय रेग्मी बाहिरिएसँगै कार्यकारी प्रमुख पद खाली छ । सीईओ रेग्मीको गत माघ २० गते पदावधि सकिएको थियो ।
सीईओ नियुक्तिका लागि यसअघिका संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाको संयोजकत्वमा समिति गठन गरेको थियो । सिइओ छनोटको लागि मदन आचार्य र मिलन देवकोटा र महानिर्देशक सहितको तीन सदस्यीय समिति गठन गरिएको थियो । हाल बोर्डको कामकारवाही निमित्त कार्यकारी निर्देशक नन्दनीलाहे थापाले सम्हाल्दै आएकी छन् ।