Logo

वीरगञ्जमा बेसिक फर नर्स कार्यशाला तालिम सम्पन्न



काठमाडौं, २४ चैत । नेपाल मेडिसिटी बयोधा अस्पताल र नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन काठमाडौंको संयुक्त आयोजनामा वीरगञ्जमा २ दिने कार्यशाला तालिम सम्पन्न भएको छ । उक्त कार्यशाला तालिम यही चैत २३ र २४ आयोजना गरिएको थियो । उक्त कार्यशाला तालिमको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले उद्घाटन गरेका थिए । कार्यशाला तालिमको उद्घाटन गर्दै मन्त्री सिंहले प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत् नर्सहरुको सीप तथा ज्ञान अभिबृद्धिमा सरकारले ध्यान दिने बताए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संघीयतालाई कार्यान्वयन गर्दै आम जनसमुदायको हितका लागि उपयोग गर्न स्वास्थ्य सेवा एउटा माध्यम हुने बताए ।

नेपाल मेडिसिटी अस्पतालका प्रमुख विजय रिमालले मधेश प्रदेशमा आईसियु सेवा दिईरहेका अस्पतालहरुका करिब ७० जना नर्सहरुलाई सघन उपचार पद्धति, नवीनत् ज्ञान र उपचार मापदण्ड तथा सघन उपचारमा प्रयोग हुने औजार, उपकरणहरुका बारेमा स्किल ल्याबमा तालिम दिइएको बताए । प्रमुख रिमालले बेसिक फर नर्स कार्यशाला तालिमको उद्देश्य अस्पतालहरुको उपचार गुणस्तरलाई अभिबृद्धि गर्दै सघन उपचारका लागि मधेश प्रदेशका सबै अस्पतालहरुलाई सक्षम बनाउनु रहेको बताए ।

साथै मधेश प्रदेशमा आईसियु विशेषज्ञहरुको अभावलाई न्यून गर्ने प्रयास स्वरुप आफूहरुले निकट भविष्यमा चिकित्सकहरुका लागि १ वर्षे फेलोसिप कार्यक्रम बीरगञ्जमै शुरु गर्ने तयारी गरिरहेको पनि उनले जानकारी गराए ।

कार्यक्रममा नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनका अध्यक्ष तथा क्रिटिकल केयर विभाग, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका प्रमुख प्रा.डा. सुभास आचार्यले आफूहरुले मधेश प्रदेशको अस्पतालहरुको आईसियु सेवाको गुणस्तर र क्षमतालाई अभिवृद्धि गर्न सहयोग गर्ने अब नियमित रुपमा प्रदेशमा तालिमको आयोजना गर्ने बताए ।

क्रिटिकल केयर नर्सिङ्ग एसोसियन अफ नेपालकी भाईस प्रेसिडेण्ट कविता सिटौलाले तालिमका लागि उत्साहित सहभागी तथा कार्यक्रमको सफलताका लागि उपस्थित हुन भएको प्रदेश स्वास्थ्य मन्त्रीलगायतका राजनैतिक दलका प्रतिनिधिहरुको स्वास्थ्य प्रतिको प्रतिबद्धताका लागि आभार ब्यक्त गरिन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का नेता विचारी यादव, जनता समाजवादी पार्टी पर्सा जिल्ला अध्यक्ष राम नरेश यादव, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, नेपाली कांग्रेस पर्साका उपाध्यक्ष, राम नारायण कुर्मी, परवानीपुर गाउंपालिकाका प्रमुख राम क्षेत्री कुर्मी, वीरगंज महानगरपालिका वडा नं. २३ का प्रमुख अवध किशोर कुशवाहा, वडा नं २० का प्रमुख राम किशोर सिंह लगायतका महानुभावहरुले कार्यकममा शुभकामना ब्यक्त गरे ।

विशेषगरी रेस्पाईरेटोरी प्याथोलोजी, एयरवे म्यानेजमेन्ट, मेकानिकल भेन्टिलेशन, रुटिन नर्सिङ्ग केयर इन आईसियु, कार्डियोभास्कुल फिजियोलोजी, शक म्यानेजमेन्ट, न्यूरोलोजिकल एसेसमेन्ट लगायतका विषयहरुमा ह्याण्डस् अन स्किल स्टेशनको ब्यवस्था गरी प्रयोगात्मक र सैद्धान्तिक ज्ञान र सीप अभिवृद्धि गरिएको उक्त कार्यशाला तालिम ८ जना सिनियर नर्स इन्स्ट्रक्टरहरुले सञ्चालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot