Logo

सुशीला विष्टको गजल सङ्ग्रह “प्रसिद्धि” सार्वजनिक



सुशीला विष्टको “प्रसिद्धि” गजल सङ्ग्रह सार्वजनिक गजलकार सुशीला विष्टद्वारा विरचित पहिलो गजल सङ्ग्रह ‘प्रसिद्धि’ चैत २४ गते सार्वजनिक भएको छ । काभ्रेको २८ किलोस्थित निलकण्ठेश्वर शब्दयात्रा धाम (अक्षरधाम)को हलमा शब्दयात्रा प्रकाशनको आयोजनामा सञ्चालित भव्य कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो ।

प्रसिद्धि गजल सङ्ग्रहमा बहरबद्ध ९६ गजलहरू समावेश गरिएका छन् । शब्दयात्राको स्थापना तथा सञ्चालन गर्दै आउनुभएका साहित्यकार हरि मञ्जुश्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । अनुसन्धाता, लेखक तथा समालोचक डा. षडानन्द पौड्याल र कृतिकार सुशीला विष्टले संयुक्त रूपमा उक्त गजलसङ्ग्रहलाई थैलीबाट झिकेर सार्वजनिक गर्नुभएको थियो । उक्त कार्यक्रममा ‘प्रसिद्धि’ माथि अन्वेषक, समीक्षक, अनुवादक तथा कवि डा. छत्रपति दाहालले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो भने कृतिकार सुशीला विष्टले ‘प्रसिद्धि’ मा रहेका गजलहरूमध्येबाट आफूलाई मन परेको एउटा गजल वाचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सूर्यप्रसाद श्रेष्ठ (ताप्लेजुङ), डा. योगेन्द्रप्रसाद यादव (सिराहा), डा. सुषमा आचार्य (काठमाडौँ), मुकुन्द शर्मा चालिसे (बागलुङ), लक्ष्मी भूषाल (काठमाडौँ), चट्याङ मास्टर (भक्तपुर), डा. ध्रुव घिमिरे (नुवाकोट) र डा. षडानन्द पौड्याल (पर्वत) गरि विभिन्न विधाका आठजना व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot