काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली इलाम जाने भएका छन् । बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वार सुहाङ नेम्वाङको लागि भोट माग्नको लागि इलाम जाने भएका हुन् ।
पार्टीका प्रभावशाली नेता सुवास नेम्वाङको निधन भएपछि सो क्षेत्रमा बैशाख १५ गते हुने उपनिर्वाचनमा सुवासका कान्छा छोरा सुहाङलाई एमालेले चुनावी मैदानमा उतारेको छ । एमाले नेताहरु भानुभक्त ढकालदेखि कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेता हिक्मत कार्कीलगायत नेताहरु इलाममा सक्रिय छन् । एमाले अध्यक्ष ओली भने यही साता इलाम जानेगरि कार्यक्रम तय भएको जनाईएको छ ।
इलाममा ठूला कम्युनिष्ट पार्टीहरु एमाले, माओवादी केन्द्र र नेकपाको साझा उम्मेद्वार बनेका सुहाङलाई जितको लागि कठिन रहेको चर्चा छ । ओलीसँगै प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दपनि इलाम जानेगरि छलफल भएको बताईएको छ । तीनै जना नेताहरुले सुहाङलाई जिताउनको लागि चुनावी मैदानमा उत्रिने तयारी भएको स्रोतको दाबी छ ।
चुनावी कमाण्डरको जिम्मेवारीमा भने पूर्वमन्त्री शिवमाया तुम्बाहाम्फे छिन् । अहिले इलाममा राजनीतिक दलका नेताहरुको चपलपहल बढेको छ । इलाम–२ मा ८ जना स्वतन्त्रसहित २० जनाको उम्मेद्वारी परेको छ । चुनावमा एमाले, कांग्रेस, रास्वपा र स्वतन्त्र उम्मेद्वारबीच कडा प्रतिष्पर्धा छ । कांग्रेसले भने ०७९ मा सुवाससँग पराजित भएका डम्बरबहादुर खड्कालाई नै उम्मेद्वार बनाएको छ ।
यता, संसद्को चौथो ठूलो दल रास्वपाले भने युवा मिलन लिम्बुलाई चुनावी मैदानमा उतारेको छ । यस्तै, पहिचानवादीहरुले भने स्वतन्त्र रुपमा डकेन्द्रसिंह थेगिमलाई उठाएको छ । उनलाई धरानका मेयर हर्कराज राईको साथ छ ।