Logo

परासर मार्ग कालोपत्र गरिँदै



तनहुँ, २६ चैत । व्यास नगरपालिकाको गौरवको अयोजनाअन्तर्गत पर्ने परासर मार्गमा पक्की नालासहित कालोपत्र गरिने भएको छ । विश्व बैंकको अनुदान सहयोगमा १० दशमलव ५५० किलोमिटर दूरीमा कालोपत्र गर्न लागिएको हो ।

उक्त मार्गअन्तर्गत पर्ने बुल्दीखोला, घाँसीकुव बेल्टारी, अधेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती सडकमा जोडिनेछ । व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी रिङरोड बनाउन लागिएको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए । “कालोपत्रपश्चात् यहाँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्”, उनले भने , “कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालगायत क्षेत्रमा सहज पहुँच पुग्नेछ ।”

ठेक्का मूल्याङ्कनका लागि सूचना प्रकाशित गरी निर्माण कार्यलाई अघि बढाउन लागिएको तिवारीले बताए । “नालासहितको सडक कालोपत्र भएपछि यस क्षेत्रको विकासमा परिवर्तन आउने विश्वास गरेका छौँ”, उनले भने । उनका अनुसार व्यासका गौरवको आयोजनामध्ये सुरु गर्न लागिएको यो पहिलो आयोजना हो ।

आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले ५२ करोड ७८ लाख ३० हजार चार सय २७ मा अनुमानित रकमसहित ठेक्का पाएको तिवारीले जानकारी दिए । विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ ।

परासर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार बैंकले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकनपश्चात् उक्त आयोजना छनोट गरेको हो ।

छनोटपश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान प्रक्रिया अघि बढाएको नगरप्रमुख न्यौपानेले बताए । “गुणस्तरीय सडक निर्माणपछि यहाँ व्यवस्थित सहरीकरण हुँदै जानेछ”, उनले भने ।

“सामान्यतया सवा करोडले एक किमी सडक कालोपत्र गर्ने प्रावधान छ । विश्व बैंकको मापदण्डअनुसार एक किमीका लागि चार करोड खर्च गरी गुणस्तरीय सडक निर्माण गर्ने योजना छ”, नगरप्रमुख न्यौपानेले भने । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot