Logo

एसिसी प्रिमियर कपका लागि नेपाली क्रिकेट टिम घोषणा



काठमाडौं,२७ चैत । ओमानमा हुने एसिसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले चैत ३० देखि हुने प्रिमियर कप खेल्ने नेपालको १४ सदस्यीय टिम सार्वजनिक गरेको हो।

नेपाली टिममा सबै भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन्। भारतमा गएका आकास चन्द नेपाली टिममा छैनन्।

नेपाली टिम: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।

कपमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्।

टी-२० फर्म्याटमा हुने कपका आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।

खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग चैत ३० गते खेल्नेछ। यस्तै नेपालले दोस्रो खेल कतारसँग वैशाख १ गते, तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot