काठमाडौं, चैत २८ । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको निधन भएको छ । निधन हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका छन् ।
नेपाली सेनाका अनुसार रावलको उपचारको क्रममा अस्ति बेलुका जिल्ला अस्पताल डोल्पामा निधन भएको हो भने जमदार मगर र बुढाको उपचारको क्रममा काठमाण्डौ कीर्तिपुरस्थित जलन अस्पतालमा हिजो निधन भएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरकै जलन उपचार अस्पतालमा उपचार भैरहेको सेनाले जनाएको छ । सोमवार डढेलो निभाउनेक्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरु जलेर घाइते भएका थिए ।