Logo

प्रभु साहको टिप्पणी : हामीले त जान्नेहरुको पनि हालत हेरेकै छौं (भिडिओसहित)



काठमाडौं, २८ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले सांसदहरुलाई विज्ञ कर्मचारी दिन माग गरेका छन् । छानिएर आएकाहरुलाई जान्ने बनाउनको लागि पनि कर्मचारी दिन उनको माग छ । प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकको विशेष समयमा बोल्दै सांसद साहले यस्तो माग गरेका हुन् । उनले सांसदहरुको क्षमतालाई माथि उठाउने काममा सदनको ध्यान जानुपर्नेमा जोड दिए ।

उनले भने,‘अहिले संसद्को विधेयक अधिवेशन करिब करिब अन्तिम चरणमा छ । केही दिनपछि यो संसद्को अधिवेशन अन्त्य हुन्छ । हामी आफ्नो निर्वाचन क्षेत्रमा जान्छौं । जनतामा जान्छौं । जनतामा जाँदा हामीले के भन्ने ? संसद्को यो अवधिमा हामीले के के गर्यौं ? सभामुखज्यू, जनतालाई के काम गर्यौं भनेर सुनाउने ? निर्वाचनपछि झण्डै तीन वटा अधिवेशन भैसकेको छ । अहिलेसम्म हामीले चार वटामात्रै विद्येयक पारित गर्यौं । ती विद्येयकपनि (संशोधन) केही दफा संशोधनसम्बन्धी पारित गर्यौं । त्यसमा पनि विगतमै उत्पति भएका विद्येयकहरु पारित गर्यौं । के यही सुनाउन जाने जनतामा ? सरकारले जम्मा १९ वटा विद्येयक ल्याएको देखियो । हामी सांसदहरुले दर्ता गराएका सार्वजनिक महत्वको जरुरी प्रस्तावले पनि महत्व पाएनन् । विशेष प्रस्तावले पनि महत्व पाएन ।’

सम्बोधनको क्रममा उनले सरकारले भनेका उच्च प्राथमिकताका विद्येयकहरु कहाँ छन् ? भनेर प्रश्नसमेत तेर्साए । उनले भने,‘प्रधानमन्त्री बनिराख्दा त्यतिवेला सम्माननीय प्रधानमन्त्रीज्यूले यो सदनमा भन्नुभएको थियो कि संक्रमणकालिन न्याय टुँगो लगाउँछु भन्नुभएको थियो । संवैधानिक परिषद्सम्बन्धी विद्येयकपनि उच्च प्राथमिकतमा छ भन्नुभएको थियो । ती विद्येयकहरु कहाँ छन् भनेर सोध्न चाहन्छु । के हामीले यो संसद्लाई साँच्चिकै प्रभावकारी बनाईराखेका छौं ? हामी सांसदहरुले आफ्नो क्षमतालाई माथि उठाइराखेका छौं त ?’

उनले सांसदहरुलाई दिईएको स्वकिय सचिवको काम के हो भनेर सभामुखसँग प्रश्न सोधेका छन् । साहले भने,‘स्वकिय सचिवको काम के हो ? यदि काम छैन भने राखेर के काम ? कि त पिएहरुलाई फिर्ता गर्नुपर्यो कि त उनीहरुलाई काम दिनुपर्यो । माननीय सदस्यहरु विद्येयकमा बोल्ने भनेको विज्ञ हुनुपर्छ कि पर्दैन ? हामी हेरिरहेका छौं कि सांसदहरु बसेर काम गर्ने ठाउँ छैन् । दलको अफिस छ, कुनै कार्यकक्ष होईन । यहाँ लविमा बस्नुहोस, या लाईब्रेरीमा जानुहुन्छ, बस्ने ठाउँ छैन् । के पढ्ने ? के बुझ्ने अनि के बोल्ने भन्ने प्रश्न आउँछ । हामी सांसदहरुलाई तमाशा बनाईराख्ने हो र ? हुर्मत लिने हो र ?’

सांसद साहले कतिपयले जान्नेलाई छान्नुपर्छ भनेको कुरा उल्लेख गर्दैै जान्नेहरुको पनि हालत हेरिएको टिप्पणी गरे । उनले थपे–‘कयौंले भन्छन् कि जान्नेलाई छान्नुपर्छ भनेर । हामीले त जान्नेहरुको पनि हालत हेरेकै छौं । एउटा विषयको पिएचडी हुँदैमा सबै विषयको विज्ञ हुनैसक्दैन् । त्यो छानेकालाई जान्ने बनाउने कि नबनाउने भन्ने प्रश्न आउँछ । यी सांसदहरुलार्इृ विज्ञको सुविधा दिनुहोस । कर्मचारीहरुको कमी छैन् । यत्तिकै कामविहीन भएर कर्मचारीहरु बसिरहेका छन् । सांसदलाई हामी एउटा उपसचिव दिन सक्दैनौं ? एउटा सांसदलाई पाँच वटा विज्ञ दिन सक्दैनौं ? यहाँ एउटा विषयमा बहस हुँदा अर्कै विषय उठाउँदा संसद् र सभामुखको पनि मानमर्दन हुन्छ कि हुँदैन् ? यो विषयले हामीलाई छुँदैन र ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot