काठमाडौं, २८ चैत्र । आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वार डम्बर खड्कालाई जिताउनको लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा इलाम प्रस्थान् गरेका छन् । प्रतिनिधिसभाको बैठक आगामी बैशाख २ गतेसम्मको लागि स्थगित् भएपछि महामन्त्री थापा उपनिर्वाचनको लागि पार्टीको पक्षमा माहोल बनाउनको लागि इलामतर्फ प्रस्थान् गरेका हुन् ।
उनी अहिले भर्खरै हवाईमार्गबाट झापा प्रस्थान् गरेका हुन् । इलाम २ को उपनिर्वाचनको लागि सभापति शेरबहादुर देउवाले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर तोेकेका छन् । अब शर्मालाई चुनावी कमाण्डमा साथ दिन गगन इलाम पुग्ने भएका हुन् । इलाम २ को उपनिर्वाचन कांग्रेसका महामन्त्रीद्धय थापा र शर्माको लागि पनि अग्निपरीक्षाको विषय बनेको छ ।
सो क्षेत्रमा रवि लामिछाने नेतृत्वको रास्वपाले भने मिलन लिम्बुलाई उम्मेद्वार बनाएको छ । अहिले कांग्रेस महामन्त्री थापा र गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति लामिछानेबीच राजनीतिक प्रतिष्पर्धाजस्तो देखिएको छ ।
थापाले लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको यथेष्ट प्रमाण भएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान लिएका छन् । लामिछानेले भने संसद्को रोष्ट्रममा उभिएर बोल्न पाउनुपर्ने माग गरेका छन् ।