Logo

नयाँ वर्षमा झलनाथको आह्वान: म ठूलो र मैले पाउनुपर्छ भन्ने घमण्ड त्यागौं



काठमाडौं,१ वैशाख । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले म ठूलो र मैलै नै सबै पाउनुपर्छ भन्ने घमण्ड त्याग्न नेताहरुलाई आग्रह गरेका छन् ।

नयाँ वर्ष २०८१ सालको शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले ‘म ठूलो,म बलियो र मैले सबै कुरा पाउनुपर्छ’ भन्ने दम्भ र घमण्डबाट मुक्त हुन समेत कम्युनिस्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन् ।

‘सबै वामपन्थी समूहहरूमा “म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ” भन्ने जस्ता दम्भ र घमण्डबाट मुक्त हुनुपर्छ’ खनालले जारी गरेको वक्तव्यमा भनिएको छ ‘सबैकाबीच समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्छ, जनता र राष्ट्रका ज्वलन्त सवालहरूको समाधानका निम्ति एकजुट हुन सक्नुपर्छ । भूमि सुधार र कृषि क्रान्तिलाई अघि बढाउन सक्नुपर्छ, कृषकहरुलाई सबै सेवा दिनका साथै उनीहरूका उत्पादनका लागि समर्थन मूल्य तोक्ने र सरकारले खरिद गर्ने नीति लिन सक्नुपर्छ, मुलुकलाई औद्योगिकरणको दिशामा अघि बढाउन सक्नुपर्छ, भ्रष्टाचारलाई अन्त्य गर्न सक्नुपर्छ, मूल्य वृद्धि र मंहगीलाई रोक्न सक्नुपर्छ, देशभित्रै व्यापक रोजगारी सिर्जना गर्दै समाजमा युवाहरूको विदेश पलायनलाई रोक्न सक्नुपर्छ’ ।

खनालले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पनि जनताले अपेक्षा गरेअनुरुपको काम गर्न नसकेमा जुन जोगी आएपनि कानै चिरेको भन्ने भनाइमात्र पुष्टि हुने बताएका छन् । ‘जनताले खाजे अनुसारको काम गर्न सकिएन भने वर्तमान सरकारका बारेमा पनि जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान मात्र चरितार्थ हुन्छ’ खनालले भनेका छन् ‘त्यसैले सम्पूर्ण वामपन्थी साथीहरु बदलिदो अन्तराष्ट्रिय र राष्ट्रिय परिस्थितिको सहि विश्लेषण गरौं, नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइसकेको छ भन्ने कुरालाई गहिरो समझ बनाऔं, समाजवादी क्रान्तिका सहि कार्यदिशा, नीति र सिद्धान्तहरू अघि सारौं, त्यसैका आधारमा एकताका आधारलाई फराकिलो पारौं, मिल्न सकिने सवालमा मिल्दै अघि बढौं, नमिलेका कुरामा नीतिनिष्ट ढङ्गले बहस गरौं र एकताका आधारहरूलाई फराकिलो पार्दै अघि बढौं । देशी विदेशी दक्षिणपन्थी शक्तिहरु अहिलेको गठबन्धन सरकारलाई पनि तोड्न चाहन्छन, उनीहरु त्यसमा लागिरहेका छन, हामी त्यस बारेमा सचेत बनौं र मुलुक तथा जनताका ज्वलन्त समस्याहरु समाधान गर्दै समाजवादको दिशामा दृढ भएर अघि बढौं’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot