Logo

कांग्रेस र राप्रपाको विरोधपछि प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची हटाइयो



काठमाडौं, २ वैशाख । प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सूचीबाट हटाइएको छ । बैठकमा आज पनि नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सम्भावित कार्यसूची सूचीबाट हटाइएको जानकारी गराएका थिए ।

आजको बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरु सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने रहेको थियो ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २००० पेश गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्