Logo

७० दिन चालु रहेको प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा के-के भए कामकारबाही ? (पूर्णपाठसहित)



काठमाडौं, २ वैशाख । प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजबाट अन्त्य भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त भएको संसद्को चालु अधिवेशन अन्त्य गर्ने पत्र वाचन गरेर संसद्मा सुनाएकासँगै आजको बैठक अन्त्य गरेका छन् । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राप्रपाले संसद्मा विरोध गरेका थिए । प्रतिपक्षी दल कांग्रेस र राप्रपाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको दाबी गर्दै संसदीय समितिको माग गर्दै आएका छन् ।

कांग्रेस र राप्रपाको अवरोधपछि सम्भावित कार्यसूचीको बुँदा नम्बर १ देखि ७ सम्मलाई आजको कार्यसूचीबाट हटाइएको जानकारी सभामुखले गराएका थियो । त्यसपछि अगाडि बढेको संसद् बैठकमा सभामुख घिमिरेले गत माघ २२ बाट आजसम्म (७०) दिन चालु रहेको हिउँदे अधिवेशनमा भए गरेका कामकारबाहीको फेहरिस्त पढेर सुनाए । ७० दिन चालु रहेको तेस्रो अधिवेशनमा २३ दिनहरुमा २३ पटक बैठक बसी ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाहीमा व्यतित भएको जानकारी सभामुख घिमिरेले जनाकारी गराए ।

त्यसैगरी, संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ को उपनियम (५) को व्यवस्था बमोजिम गत फागुन ६ गते र चैत ६ गतेको बैठकहरुमा सञ्चालन भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रममा २६ जना सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएको उनले बताए ।

सभामुख घिमिरेले सभाको पहिलो बैठकमा पेश भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ लाई गत फागुन ६ गतेको सभाको बैठकले स्वीकृत गरेको, सभाको पहिलो बैठकमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम पेश भएको जानकारी गराए ।

साथै, अधिवेशन अवधिमा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ को उपनियम (४) बमोजिम राखेको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएकोसमेत सभामुख घिमिरेले सदनलाई जानकारी गराए ।

सभाको दोस्रो अधिवेशनबाट चालु अधिवेशनमा प्राप्त दुईवटा सन्धि सम्झौताहरु मध्ये “विमस्टेक वडापत्र (BIMSTEC Charter)” लाई गत चैत २० गतेको सभाको बैठकले अनुमोदन गरेको र “अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता (Framework Agreement on the establishment of the International Solar Alliance )” माथिको सामान्य छलफल समाप्त भइसकेको उनले बताए ।

गत फागनु १४ गतेको बैठकमा पेश भएको आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि चैत १, ५, ६ र ७ गतेको सभाको बैठकहरुमा छलफल गरिएको उनले स्मरण गराए ।

चालु अधिवेशनमा प्रतिनिधि सभामा ५ वटा सरकारी विधेयक दर्ता भएकामध्ये “निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०” समितिमा विचाराधीन रहेको, “संघीय निजामति सेवा विधेयक, २०८०” माथिको सामान्य छलफल समाप्त भएको, “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०” र “बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०” सभामा प्रस्तुत भएको उनले जानकारी गराए । “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०” दर्ता मात्रको स्थितिमा रहेको पनि उनले जानकारी गराए । साथै सभामा उत्पत्ति भएको “सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक” माथि राष्ट्रिय सभाबाट गरिएको संशोधनलाई सभाले स्वीकार गरी पारित गरेको सभामुख घिमिरेले जानकारी गराए ।

चालु अधिवेशनमा राष्ट्रिय सभामा उत्पत्ति भएको तीनवटा सरकारी र एउटा गैर सरकारी विधेयक प्रतिनिधि सभामा प्राप्त भएको उनले बताए । उक्त विधेयकमध्ये “विद्युतीय व्यापार विधेयक, २०८०” माथिको सामान्य छलफल समाप्त भएको र बाँकी तीनवटा विधेयक सभामा प्रस्तुत भैसकेको बताए । सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ८ वटा विधेयकहरु मध्ये “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६” र “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७” सभाबाट पारित भएको र बाँकी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन नै रहेको जानकारी गराए । चालु अधिवेशनमा ३ वटा विधेयक पारित भएको उनले जानकारी गराए ।

सभामुख घिमिरेले प्रतिनिधि सभाको चालू अधिवेशनमा सांसदहरुबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ६५ वटा मौखिक र ८ वटा लिखित प्रश्नहरु मध्ये ३२ वटा मौखिक र २ वटा लिखित प्रश्नहरुको उत्तर प्राप्त भएकोमा सभाको २०८० चैत २० गतेको बैठकमा ६ वटा मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीबाट उत्तर दिने कार्य सम्पन्न भएको बताए ।

अधिवेशनमा प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको “महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन, २०८०” पेश भएको छ । त्यस्तै, प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारी र संविधान सभा सदस्य केशव कुमार बुढाथोकीको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको थियो ।

सभाको विभिन्न बैठकको आकस्मिक, शून्य र विशेष समयहरुमा सभाका सदस्यहरुले समसामयिक एवं जिल्लामा घटित विभिन्न घटनाहरुको सम्बन्धमा सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्री प्रचण्डले दुई पटक, उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठले दुई पटक र तत्कालीन खानेपानी मन्त्री महिन्द्र राय यादव एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले एक पटक आकस्मिक, शून्य एवं विशेष समयमा उठेका प्रश्नको सम्बन्धमा जवाफ दिएको सभामुख घिमिरेले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्