Logo

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भुलभुला मन्दिर



कास्की, वैशाख ३ । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो । पूजाआजा गरेमा मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा चासो र चर्चा कमाएको यस स्थलमा कास्कीका साथै तनहुँ, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् ।

मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सङ्घ संस्थाका साथै वडा कार्यालयले सक्रियता देखाएको छ । विगतमा सामान्य कुण्ड मात्रै रहेको यहाँ मन्दिर, ट्रस्ट भवनलगायतका पूर्वाधार निर्माण गरिएका स्थानीयवासी एवं पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार वडा कार्यालयले यस आर्थिक वर्षमा ८ लाख ५० हजार रुपैयाँको लागतमा पुजारी आवाससहितको ट्रस्ट भवन निर्माण गरिसकेको छ ।

अघिल्लो आवमा मन्दिर परिसरमा १० लाख रुपैयाँ लागतमा शौचालय निर्माण गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए । पूर्वाधार विकासकै क्रममा मन्दिर र त्यहाँस्थित जलकुण्ड (पोखरी) लाई व्यवस्थित गर्न वडा कार्यालयले ८ लाख रुपैयाँ उपलब्ध गराई निर्माण सम्पन्न भएको भुलभुला मन्दिर संरक्षण समितिका सदस्य शङ्कर अधिकारीले बताए ।

प्राचीनकालदेखि नै भुलभुला देवीको महिमा र गरिमा आफूहरूले सुन्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष अधिकारीले यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढाएको बताए । प्राचीन किंवदन्तीअनुसार भुलभुला देवीलाई ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रूपमा मान्दै पूजाआजा गर्ने गरिएको यहाँका बूढापाका बताउँछन् ।

प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिका दिनमा र चैते दसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा वर्षको एकपटक स्थानीयले सामूहिक पञ्चबलि दिने गरेका छन् । मन्दिरको पूजाआजाका लागि स्थायी स्रोत नभए पनि माथिल्लो पुडिटार र तल्लो पुडिटारमा स्थानीय मिलेर सामूहिक पञ्चबलि दिने गरेका छन् ।

मन्दिर परिसरको जलकुण्डमा बाह्रै महिना पानी आइरहने स्थानीय समाजसेवी ८७ वर्षीय सम्मरलाल श्रेष्ठले बताए । जलकुण्डमा तलबाट निरन्तर पानी भुलभुल गरेर आउने भएकोले नै प्राचीनकालदेखि नै भुलभुला देवीका रूपमा लिने गरिएको उनको तर्क छ ।

स्थानीयवासीका अनुसार जलकुण्ड नजिकै पहिले खनियाँको रुख थियो । रुखको नजिकै सानो ढुङ्गे मन्दिर थियो । १८/१९ वर्षअघि उक्त रुख ओइल्याउँदै मरेको र सँगै ढुङ्गाको मन्दिर पनि दब्नुलाई धार्मिक महत्वसँग जोडेर हेर्ने गरिएको स्थानीयको भनाइ छ । प्रत्येक वर्षको वैशाख सङ्क्रान्तिमा प्राचीनकालदेखि मन्दिर परिसरमा मेला लाग्ने गरेकोमा विगत केही वर्ष अघिसम्म झै–झगडाका कारण रोकिए पनि स्थानीय युवाले ११ वर्षयता त्यसलाई व्यवस्थित गर्दै आएका छन् ।

मन्दिरको संरक्षण र विकासलाई स्थानीय सामुदायिक बनसँगै नमूना युवा क्लब, भुलभुला युवा क्लबलगायतका सङ्घ संस्थाले सक्रियता देखाएका छन् । मन्दिरसँगै नजिकै रहेको डुडेको रहलाई पनि पर्यटकीयरूपमा विकास गर्ने प्रयास थालिएको भुलभुला युवा क्लबका सचिव शिव अधिकारीले बताए ।

उनका अनुसार प्राकृतिक झरनाका रूपमा रहेको डुडेको रहको संरक्षण एवं पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका–३३ को कार्यालयबाट ४ लाख ५० हजार रुपैयाँ प्राप्त भई केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।

‘धार्मिक महत्वको भुलभुला मन्दिरसँगै डुडेको रहलाई समेटेर यहाँको पर्यटकीय विकास गर्न सकिने देखिएको छ’, उनले भने, ‘यहाँको प्रवर्द्धन र विकासका लागि स्थानीय सरकार, युवा क्लब एवं सरोकारवाला सबैको सहकार्य आवश्यक छ ।’ रासस



प्रतिक्रिया दिनुहोस्