काठमाडौं, ३ बैशाख । नेपाल समाजवादी पार्टीका प्रभावशाली नेता विश्वदिप पाण्डेले पार्टी परित्याग गरेका छन् । नेसपा छोडेका पाण्डे आजै नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक समारोहका बीच पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईसँग लामो समय सँगै रहेका पाण्डेले साथ छोडेका हुन् । उनले माओवादी पार्टी र अध्यक्ष प्रचण्डसँगको सहकर्या आफ्नो लागि नयाँ कुरा नभएको उल्लेख गर्दै सो पार्टीमा आफूलाई पहिलेकै जस्तो प्रेम, स्नेह र सद्भाव छ भन्ने कुरा विश्वास रहेको बताएका छन् ।
माओवादी केन्द्र प्रवेश गरेका पाण्डेले फेशबुकमा लेखेका छन्–
केही वर्षको उतारचढाव,आफ्नै प्रकारका भोगाई र अनुभूतिसँगै म नेकपा माओवादी केन्द्रमै फर्किएको छु । माओवादी पार्टी र अध्यक्ष कमरेड प्रचण्डसँगको सहकार्य मेरा लागि कुनै नयाँ कुरा हैन । यहाँ मेरा लागि पहिलेकै जस्तो प्रेम, स्नेह र सद्भाव छ भन्ने पूर्ण विश्वास छ ।
सुशासन, समृद्दि, सामाजिक न्याय र समाजवादको यात्रा टुटेर, फुटेर अथवा छुट्टाछुट्टै हिँडेर पूरा गर्न नसकिने रहेछ । आज देशलाई वामपन्थी शक्तिबीच नयाँ स्तरको एकता र सहकार्य चाहिएको छ । अझ हिजोका क्रान्तिकारी शक्तिहरु सबै प्रकारका पूर्वाग्रहबाट माथि उठेर एकताबद्व हुनु झनै आवस्यक छ ।
यो क्षण म केही भावुक पनि भएको छु। कतिपय पुराना र पेचिला स्मरण जीवन्त भएर आएका छन् । यो पार्टी र आन्दोलनको निर्माणमा मेरो बुबाको सम्पूर्ण जीवन नै समर्पित भयो । म आफूले यसमा सक्दो भूमिका र योगदान गरेँ । कतिपय राजनीतिक घटनाक्रमको जटिलताले हामी केही टाढा÷नजिक भयौं होला तर, भविष्यका नयाँ चुनौती पूरा गर्न यो पार्टी र आन्दोलनलाई नयाँ स्तर र उचाईमा उठाउन योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर फेरि यात्रामा लामवद्ध भएको छु ।