Logo

सिन्धुपाल्चोकमा विपद् प्रभावित ५८ परिवारलाई घर



चौतारा (सिन्धुपाल्चोक), ३ वैशाख । सिन्धुपाल्चोकमा विभिन्न समयमा आएका प्राकृतिक विपत्तिका घटनामा परेका ५८ परिवारको निजी आवास पुनःनिमाण सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालयका विपद् ‘फोकल पर्सन’ रविराज धितालका अनुसार चार सय ८१ परिवारले भने जग्गा खरिदसमेत गरेका छन् । उनीहरूले सरकारी अनुदानबापतको अन्तिम किस्ता रु दुई लाखसमेत गरी कूल रु पाँच लाख भुक्तानी लिएका हुन् ।

कूल एक हजार दुई सय ५४ लाभग्राहीले पुनःनिर्माणका लागि सम्झौता गरेकामा एक हजार आठ परिवारले पहिलो किस्ताबापतको ५० हजार प्राप्त गरेका छन् । एक सय ८८ परिवारले भने दोस्रो किस्ताबापतको रु दुई लाख ५० हजार प्राप्त गरेका हुन् ।

जग्गा खरिदका लागि चार सय ८१ परिवारले प्रतिपरिवार रु तीन लाखका दरले कूल रु १४ करोड ४३ लाख लिएका छन् । यसरी स्थायी आवास निर्माण किस्ताबापत वितरण गरेको कूल रकम रु २६ करोड ५६ लाख रहेको धितालले बताए ।

अस्थायी आवास निर्माणका लागिसमेत सरकारले प्रतिपरिवार रु ५० हजार दिनेछ । यसअन्तर्गतसमेत जिल्लामा सात सय ६७ परिवारले पहिलो किस्ताका रुपमा २५ हजार र एक सय ११ परिवारले अन्तिम किस्ताका रुपमा रु २५ हजार प्राप्त गरेका छन् । गत चैत मसान्तसम्म अस्थायी आवास निर्माणका लागि जिल्लामा रु दुई करोड १९ लाख ५० हजार खर्च भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot