Logo

युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनबाट पारित प्रस्ताव सार्वजनिक, एमसीसीविरुद्ध निरन्तर संघर्ष गर्ने उद्घोष



काठमाडौं, ३ वैशाख । युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलनबाट पारित समसामयिक प्रस्ताव सार्वजनिक गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सम्मेलनबाट पारित निर्णय सार्वजनिक गरेको हो ।

युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलन सुदूरपश्चिमको धनगढीमा सम्पन्न भएको थियो । उक्त सम्मेलनले अध्यक्षमा दिनेश सी, उपाध्यक्षमा विश्लेषण सी, महासचिवमा सुभाष सी, सचिवमा अनिल सी कोषाध्यक्षमा जिवनी सी सहित १३३ सदस्यीय कमिटी गठन गरेको थियो ।

सम्मेलनले नेकपाका नेताहरु विप्लव, प्रकाण्डलगायतमाथि राज्यले लगायको झुठा मुद्दा खारेजीको माग गरेको छ । साथै, युवा संघ नेपालले एमसीसी सम्झौता राष्ट्रघाती रहेको निश्कर्ष निकालेको छ । एमसीसी कार्यान्वयन र सीमा अतिक्रम विरुद्ध संघर्ष गर्ने प्रस्तावसमेत सम्मेलनले पारित गरेको छ ।

युवा संगठन नेपालले १९५० देखिका असमान सन्धिहरु खारेज गर्न माग गरेको छ । साथै, राष्ट्रिय स्वाधिनताको आन्दोलनमा गोलवद्ध हुनसमेत युवा संगठन नेपालले आह्वान गरेको छ ।

युवा संघ नेपालले विभिन्न क्षेत्रका खेलकुदलाई विकास गर्न, अवसर र प्रोत्साहन दिन राष्ट्रिय टिमका खेलाडी प्रदेश र स्थानिय टीमका खेलाडीहरुको स्वास्थ्य उपचारको व्यवस्था गर्न तीनै तहका सरकारसँग माग गरेको छ ।

साथै, युवा संघ नेपालको उक्त सम्मेलनले कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण र किसानलाई समयमै मल र बीउ सर्वसुलभ उपलब्ध गर्न सरकारसँग माग गरेको छ । त्यसैगरी,बेरोजगार युवाहरुका लागि रोजगारीको ग्यारेन्टी गर्न, बन्द कलकारखाना सञ्चालन गर्न पनि युवा संगठनले सरकारको ध्यानाकार्षण गराएको छ ।

उक्त सम्मेलनले दलाल पुजीवादी व्यवस्थालाई अन्त्य गरि त्यसको ठाउँमा नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा लामवद्ध हुन आह्वान गरेको छ ।

त्यसैगरी, सम्मेलनले भूमीहीन सुकुम्बासी, भूमीहिन दलित, श्रमिकवर्ग र अव्यवस्थित बसोवासी नागरिकहरुको समस्या यथासीघ्र सम्बोधन गर्न समेत सरकारको ध्यानाकार्षण गराएको छ ।

त्यसैगरी, बढ्दो क्रममा रहेको सवारी दुर्घटना, पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार, कमिसन, महंगी कालोवजारी लगायतका विषयमा सम्मेलनमार्फत ध्यानाकार्षण गराइएको छ ।

युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले आफूहरुले यो देश दलालहरुको हातबाट खोसेर श्रमिक वर्ग र स्वाभिमान युवाहरुको हातमा ल्याउनका लागि संघर्ष गरिरहेको बताए । विगत केही समययता नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था चलिरहेको र यसलाई मिल्काउन आफूहरु लागिरहेको उनले बताए । नेपाली विशेषताको समाजवाद आफूहरुको मूल एजेण्डा रहेको उनले बताए । अहिलेको दलाल पुँजीवादी व्यवस्थाले युवाहरुलाई विदेश लखेटिरहेको उनले बताए । संगठनको पाँच सम्मेलनले यस्ता प्रकारका समस्याका विरुद्ध लड्ने उद्घोष गरेको उनले बताए ।

युवा संगठन नेपालका उपाध्यक्ष विश्लेषण सीले यतिबेला देशमा ठूलो राष्ट्रिय संकट पैदा भएको बताए । विकासको नाममा एमसीसीजस्तो राष्ट्रघाती परियोजना भित्र्याइएको उनको आरोप छ । उनले अहिले देशमा बाह्य शक्तिहरुको ठूलो हस्तक्षेप सुरु भएको बताए । एमसीसीजस्तो राष्ट्रघाती परियोजनाका विरुद्धमा आफुहरु निरन्तर संघर्षमा नै रहेको उनले बताए । एमसीसी आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए । उपाध्यक्ष विश्लेषणले आफूहरु सीमा अतिक्रमणको विरुद्धमा पनि आफूहरु निरन्तर संघर्षमा नै रहेको बताए ।

साथै, मिटरव्याज, सहकारी र बैंकको चर्को व्याजले वित्तीय क्षेत्रलाई आक्रान्त बनाएको उनले बताए । साथै, विगतका संघर्षबाट प्राप्त उपलब्धीका विरुद्ध केही शक्तिहरु लागिरहेको भन्दै उनले यसका विरुद्ध आफूहरु कफन बाँधेर लागिरहने बताए । ‘यो सबै परिवर्तनलाई संस्थागत गर्नुको विरुद्ध आज भत्काउन खोजिएको छ । विभिन्न नामबाट, विभिन्न उपमा दिँदै भत्काउन खोजिएको छ, अपराधीकरण गर्न खोजिँदै छ । यसको विरुद्ध कफन बाँधेर लड्न युवा संगठन तयार छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot