Logo

रविविरुद्ध झनै आक्रमक हुँदै गगनले नेता/कार्यकर्तालाई भनेः ठगहरुले हाम्राबारेमा १० वटा कुराभन्दा शीर निहुँराउन पर्दैन



काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले आरोप लगाएको भरमा पार्टीका नेता तथा कार्यकर्ताले शीर निहुराउन आवश्यक नरहेको बताएका छन् । आज (सोमबार) संवाद यात्राको क्रममा कैलाली पुगेका थापाले कुनै नेताले राज्यको जिम्मेवारीमा रहँदै गर्दा गलत गरेको खण्डमा त्यसको भारी आफैं बोक्नुपर्ने बताए । उनले एउटा नेताले गरेको गलत कर्मको भागिदार पार्टी नहुने प्रष्ट पारे । गलत गर्नेहरुलाई पार्टीले कठोरतापूर्वक कारबाहीको आँट गर्नुपर्ने उनको भनाइ छ ।

‘नयाँ–नयाँ खुलेको पार्टीहरुमा दुईचार जना ठग आएर हाम्रोबारेमा दश वटा कुरा भनिरहँदा साथीहरु शीर निहुराएर बस्नुपर्छ । त्यो शीर निहुराएर बस्नुपर्ने कारण के छ ?’ उनले प्रश्न गरे ।

साथै, सहकारी ठगी प्रकरणको छानविनको लागि संसदीय छानविन समिति अपरिहार्य रहेको उनको भनाइ छ । उनले शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, गगन थापा वा रवि लामिछाने जसको नाम जोडिएपनि कारबाहीको दायरामा ल्याउनु सक्नुपर्ने बताए । ‘अहिले सहकारीको कुरा आएका छन्, नाम चलेको सहकारी बन्द भएका छन्, त्यसको पैसा कसले लिएर गयो ? सहकारी सञ्चालकले घरजग्गा र मिडियामा लगानी गर्न पाउने हो कि होइन ? यो गैरकानूनी काम गर्नेहरु को को हुन् ? यसको खोजबिन गरौं,’– उनले भने ।

आफूहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई दोषी करार नगरेको उनको भनाइ छ । सहकारी ठगी प्रकरणमा मुछिएकाहरु जसले गलत गरेका छन्, उचित अनुसन्धान गरेर कारबाहीको माग गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्