Logo

तीन गुणाभन्दा बढी कैदी हुँदा व्यवस्थापनमा समस्या



गोदावरी (कैलाली), ४ वैशाख । कैलाली कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी हुँदा समस्या भएको छ । राणाकालीन समयमा बनेको कारागारमा क्षमताभन्दा अधिक कैदी हुँदा कारागार प्रशासनलाई व्यवस्थापन गर्न समस्या भएको हो ।

भवन अभावमा एउटै कोठामा २५ जना बढी कैदीलाई राख्नुपर्ने बाध्यता रहेको कैलाली कारागार प्रशासनले जनाएको छ । सो कारागारमा शौचालयको समेत अभाव रहेका कारण बन्दीलाई शौच गर्न लाइन लाग्नुपर्ने समस्या भएको जनाइएको छ ।

एक सय ५० जना कैदी अट्ने क्षमताको उक्त कारागारमा हाल सात सय २७ जना कैदीबन्दी छन् । कारागारभित्र कैदी पाँच सय एक र थुनुवा एक सय ७१ गरी छ सय ७२ जना पुरुष तथा ३५ महिला कैदी र १७ जना थुनुवा गरी ५२ महिला कैदीबन्दी रहेको कारागारका प्रमुख दीपक पाण्डेयले जानकारी दिए ।

कारागारमा तीनजना आश्रित नाबालक छन् भने ४० जना विदेशी कैदी रहेको बताउँदै उनले क्षमता तीनगुणा बढी कैदीबन्दीका कारण कारागार प्रशासनलाई व्यवस्थापनमा समस्या भएको बताए । कैदीबन्दी थपिँदै गएपछि ठाउँ अभावमा खानपिन, सुत्न र शौचालयको समेत निकै समस्या रहेको छ । एउटै कोठामा कोचिएर सुत्नुपर्ने र शौचालयका लागि पनि लाइन लाग्नुपर्ने अवस्था रहेको कारागारभित्र रहेका कैदीको गुनासो छ ।

महिला कैदीबन्दी व्यवस्थापनमा भने समस्या नरहेको कारागारका प्रमुख पाण्डेयले बताए। कारागार प्रशासनले दिएको जानकारीअनुसार कारागारमा जीर्ण भवन, खानेपानी अभाव, ढल व्यवस्थापनमा समस्या, बिजुली बत्तीलगायत अतिआवश्यक समस्या छ । कैदीबन्दीको सङ्ख्या दिनानुदिन बढ्दै गए पनि कारागारमा नयाँ भौतिक संरचना थपिन नसकेको जनाइएको छ ।

ठाउँको अभाव र जीर्ण भवनमा कारागार प्रशासनको कार्यालय व्यवस्थापनमा पनि समस्या रहेको छ । कारागार प्रशासन रहेको जीर्ण भवन पनि वर्षामा चुहिने गरेको छ । एउटै कोठाभित्र धेरै कैदीबन्दी कोचेर राख्दा रोगहरूको सङ्क्रमणको खतरा समेत बढेको छ । बिरामी कैदीबन्दीको उपचारका लागि पर्याप्त बजेट व्यवस्था नहुँदा झन् समस्या व्यहोर्नु परेको जनाइएको छ ।

आठ दशकअघि बनेको कारागार हाल जीर्ण अवस्थामा छ । क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढ्दै गएकाले भौतिक संरचना निर्माण गर्न आवश्यक रहेको कारागार प्रमुख पाण्डेयले बताए । कारागारमा बन्दीगृह, एकवटा गाडी, ब्यारेक, चेकपोस्ट, सेफ्टी ट्याङ्कीसहित महिला–पुरुष शौचालय, कार्यालय भवनसहितका संरचना जीर्ण भएको जनाइएको छ ।

यसैगरी, कारागारमा लेखापाल, खरिदार, सहायक कम्प्युटर अपरेटरको दरबन्दी कायम भएपनि ती दरबन्दी खाली रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot