Logo

स्वास्थ्यचौकी बनाउन स्थानीयले दिए जग्गा



वालिङ (स्याङ्जा), ४ वैशाख । स्वास्थ्य चौकी भवन बनाउनका लागि यहाँका स्थानीयले निःशुल्क जग्गा दिएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ सिम्लेमा स्वास्थ्यचौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

नजिकै स्वास्थ्यचौकी भवन नहुँदा आधारभूत स्वास्थ्य उपचारबाट वञ्चित रहेका यहाँका स्थानीयलै गाउँमै स्वास्थ्यचौकी भवन भएपछि सहजरुपमा स्वास्थ्य सेवा पाइने विश्वासका साथ स्वास्थ्यचौकीको नाममा जग्गा दिएका वडाध्यक्ष सुवेदार कृष्णबहादुर थापाले जानकारी दिए ।

“भिरकोट– ५ को वडा कार्यालय रहेको स्थान तिलाहार नेटामा स्वास्थ्यचौकी छ”, उनले भने, “सिम्ले आसपासका नागरिकलाई स्वास्थ्यसम्बन्धी आधारभूत सेवा उपलब्ध गराउनका लागि स्वास्थ्यचौकी आवश्यक थियो । जग्गा प्राप्त भएसँगै भवन निर्माण थालेका छौँ ।”

स्वास्थ्यचौकी भवन बनाउनका लागि सिम्लेका स्थानीय फूलकुमारी खाण, आनन्दकुमारी खाण, यामबहादुर खाण र बेतकुमारी खाणले निःशुल्क जग्गा दिएको वडाध्यक्ष थापाले जानकारी दिए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यहाँका वडाबासीले गाउँमै स्वास्थ्यचौकी बनाउनुपर्छ भन्दै निःशुल्क जग्गा उपलब्ध गराएकामा उनले जग्गादातालाई धन्यवाद दिए ।

“बुढेशकाल लाग्यो, उमेरले ८० पुगेँ । अब उपचारका लागि टाढा जानसक्ने उपाय छैन”, जग्गादाता फूलकुमारीले भने, “आफ्नो गाउँमै स्वास्थ्यचौकी भएपछि सामान्य उपचार पाइन्छ । टाढा जान पर्दैन भन्ने लागेर निःशुल्क जग्गा दिएका हौँ ।” आफ्नै परिवारभित्रका चार जना मिलेर पायक पर्ने ठाउँमा जग्गा दिएको उनले बताए ।

फूलकुमारीले भने, “स्वास्थ्यचौकी भवन निर्माण भएपछि सहजरुपमा स्वास्थ्य सेवा पाइने विश्वासले स्वास्थ्यचौकीका नाममा जग्गा दिएका हौँ, वडाले पनि भवन निर्माण सुरु गरेको छ । खुसी लागेको छ ।”

स्वास्थ्यसम्बन्धी सामान्य उपचारका लागि पनि तिलाहार नेटा, बयरघारी बजार वा वालिङ बजार जानुपर्ने बाध्यता रहेकामा गाउँमै स्वास्थ्यचौकी बनेपछि सहजरुपमा सेवा पाइने स्थानीय बताउँछन् । रासस



प्रतिक्रिया दिनुहोस्