Logo

बागमती प्रदेशमा युवा सम्मेलन हुँदै



मनहरी (मकवानपु्र), ४ वैशाख । बागमती प्रदेश युवा परिषद्ले तीन दिने युवा सम्मेलन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्ले आगामी वैशाख २८, २९ र ३० गते युवा सम्मेलन आयोजना गर्न लागेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।

परिषद्का अध्यक्ष एवम् सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११औँ बैठकले युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्ने निर्णय गरेको कार्यकारी उपाध्यक्ष चौलागाईले बताए ।

परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्न र अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।

युवा पुस्तामा चरम निराशाबीच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उनको भनाइ छ । युवा सम्मेलनमा दुई सयजना युवाको सहभागिता रहने बताइएको छ । सम्मेलनमा विभिन्न कार्यशाला पनि आयोजना हुनेछ । युवा सम्मेलनको अन्तिम दिन मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरी समापन गरिने उपाध्यक्ष चौलागाईंले जानकारी दिए ।

युवा सम्मेलन पश्चात ‘युवा सीप वर्ष २०८१’ घोषणा गरिने चौलागाईंको भनाइ छ । यसवर्ष प्रदेशका पाँच हजार युवालाई १० वटा क्षेत्रमा एक सयभन्दा बढी पेसाका सीप सिकाइ सीप परीक्षण पश्चात टेवा पुँजी प्रदान गरिने उनले बताए । निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोसाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिइनेछ ।

तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाको समन्वयमा सञ्चालन हुनेछ । तालिम पश्चात सामाजिक विकास मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने चौलागाईंले बताए । रासस



प्रतिक्रिया दिनुहोस्