Logo

गृहमन्त्री रवि लामिछानेले अब दुनियाँलाई ढाँट्नुहुँदैन्, आजै बेलुका प्रेस–मिट गरेर स्पष्टीकरण दिनुपर्छ : एमाले नेता पोखरेल



बैशाख १५ को उपनिर्वाचनमा इलाम र बझाङ दुवै क्षेत्रमा एमालेले जित्ने दाबी
काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले ०७९ को निर्वाचनयता तात्विक भिन्नता नरहेको भन्दै अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्यको लागि पनि सदनमा कमभन्दा कम दलको प्रतिनिधित्व हुनुपर्ने वकालत गरेका छन् । उनले भने,‘अहिले मुलुकमा आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक स्थितिमा खासै परिवर्तन आएको छैन् । अहिलेपनि राजनीतिक अस्थिरता कायमै छ ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वमन्त्री पोखरेलले संसद्मा धेरै दलहरुको प्रतिनिधित्व भएकोले राजनीतिक अस्थिरता निम्तिएको टिप्पणी गरे । उनले भने,‘सदनमा धेरै दलहरु भए त्यही भएर अस्थिरता भयो । जब दल धेरै हुन्छन्, विदेशी हस्तक्षेप पनि बढि हुन्छ । जब सदनमा दल धेरै हुन्छन्, कुशासन र भ्रष्टाचार मौजुद हुन्छन । सामाजिक न्यायपनि कमजोर हुन्छ । आजको निकासको बाटो भनेको आगामी दिनमा सदनमा जति राजनीतिक दलको कम प्रतिनिधित्व हुन्छ, त्यति देशमा राजनीतिक स्थायित्व हुन्छ । त्यसो भयो भने साना पार्टीले प्रधानमन्त्री र मुख्यमन्त्री खोज्ने स्थिति आउँदैन् । देशमा दुई ध्रुवीय राजनीतिक कित्ता बनाउनुपर्छ । अब समाजमा समाजवादी र पुँजीवाद क्याम्प हुन जरुरी छ । यसलेमात्रै मुलुकलाई निकास दिन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिलेको सरकार न्यूनतम साझा कार्यक्रमअनुसार नै चलेको दाबी गरे । उनले थपे,‘यो सरकार बनाउँदा हामीले न्यूनतम साझा कार्यक्रम बनाएका छौं । त्यहीअनुसार अघि बढाउनुपर्छ ।’

नेता पोखरेलले वर्तमान गृहमन्त्री रवि लामिछानेको नाम सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा मिडियामा तथ्यसहित समाचार आएको भन्दै मन्त्री लामिछानेले आजै पत्रकार सम्मेलन गरेर आफ्नोबारे स्पष्टीकरण दिनुपर्ने सुझाव दिए । उनले भने,‘म पनि सहकारीको सदस्य हुँ । यदि सहकारी सदस्यताको आधारमा र इक्युएल फुटिङको आधारमा चलाउन प्रयत्न गरेको भए आज सहकारीको यो दशा र बदनाम हुनुपर्ने थिएन । सहकारीको बद्नाम हुनु भनेको सोसियो–इकोनोमीको बद्नाम हुनु हो । पूर्वाग्रह र कथित आपराधिक मानसिकताबाट दर्ता भएका सहकारीहरुले गर्दा आज सिंगो सहकारी क्षेत्रको बदनाम भएको छ । संविधानले समाजवादउन्मुख अर्थतन्त्रको कुरा गरेको छ । त्यसैले सहकारीको आवश्यकत्ता छ ।’

उनले सहकारी ठगी प्रकरण जोसुकै संलग्न भएपनि कारबाहीको दायरामा आउनुपर्ने टिप्पणी गरे । उनले भने,‘सहकारी ठगी प्रकरणमा जोसुकै संलग्न भएपनि यो सहकारी ठगी प्रकरणमा को–को संलगन भएका छन्, जोसुकै संलग्न भएको भएपनि, मेरो गृहमन्त्री र मुलुकको गृहमन्त्री रविजीलाई, मैले दस्तावेज पढेको छैन् । पत्रिका पढेको हुँ । यदि आज पत्रिकामा आएकोजस्तै उहाँले डेढ करोड भुक्तानी लिएको र कारोबार गरेको हो भने उहाँले अब दुनियाँलाई ढाँट्नुहुँदैन् । उहाँ निर्वाचन लड्दाखेरि पूराना पार्टी, गभर्नेन्स र भ्रष्टाचारको विरुद्ध भनेर चुनाव लड्न्ुभयो । त्यो चुनाव लडेको इथिक्स छ भने उहाँले आज बेलुकै आफ्नो स्थिति सार्वजनिक गर्नुपर्छ । त्यो आज मुलुकको माग हो । एमालेले कसैले गल्ती, भ्रष्टाचार र बदमासी गर्छ भने त्यसलाई काँध थाप्न जरुरी छैन् । आज जुन तथ्य आएका छन्, त्यो तथ्यमा सत्यता छ भने उहाँले यो मुलुकलाई आज बेलुका प्रेस मिट गरेर गृह मन्त्रालयबाट स्पष्टीकरण दिनुपर्छ । यथार्थ जनतासामू राख्नुपर्छ । यसो गर्दामात्रै रास्वपा टिक्न सक्छ । नभए त्यो नौटंकी गरेर अथवा पूराना पार्टीलाई बदनाम गरेर उहाँको भविष्य हुँदैन् ।’

उनले रास्वपाका नेताहरुले पूराना पार्टीको विकल्प खोज्ने भनेर गरेको भाषणप्रति कडा आपत्ति जनाए । उनले नेपालमा देश र जनताको लागि काम गर्ने पार्टी कहिल्यैपनि पूरानो नहुने जिकिर गरे । उनले भने,‘नेपालमा कुनैपनि पार्टी पूरानो हुँदैनन् । माक्र्सवाद कहिल्यै पूरानो हुँदैन् । जनताको एजेण्डा लिएर हिँड्नेहरु कहिल्यै पूरानो हुनसक्दैनन् । नेपालको अर्थतन्त्र गाउँमा बस्ने किसानले र मजदुरले बढि बुझ्छ । हावर्ड विश्वविद्यालयमा पढ्नेले नेपालको अर्थतन्त्र बुझ्दैन् । आज धेरै पढेका अर्थशास्त्रीभन्दा कम पढेका भरतमोहन अधिकारी र विष्णु पौडेल नेपालको सबभन्दा जनपक्षीय अर्थशास्त्री भएका छन् । यो तथ्य हो ।’

सो क्रममा उनले यही बैशाख १५ गते हुने इलाम–२ (प्रतिनिधिसभा) र बझाङ १ (क) प्रदेशतर्फको उपनिर्वाचनमा एमालेका उम्मेद्वारको जित सुनिश्चित् भएको दाबी गरे । उनले भने,‘यो उपनिर्वाचनको कुरा गर्दा नेपाली जनताले राम्रोसँग हेरिरहेका छन् । इलाममा जनताले युवा नेता खोजेका छन् । सुहाङ नेम्वाङ हाम्रो उम्मेद्वार हुनुहुन्छ । मैले फिल्डबाट बुझ्दा हाम्रो जित सुनिश्चित् छ ।’

उनले माधव नेपाललाई च्याँखे थाप्ने काम नगर्न चेतावनी दिए । उनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको सवालमा माधव नेपालको दलले कांग्रेससम्मिलित नयाँ गठबन्धनलाई सघाएको विषयमा आपत्ति जनाएका हुन् । उनले भने,‘अहिलेको गठबन्धनबाहिरको लाई समर्थन गर्ने कुरा भयो, माधव नेपालले गल्ती गर्नुभयो । त्यो गल्ती नगर्न म अनुरोध गर्दछु । यो गठबन्धनको रक्षा गर्नुपर्छ । यो मुलुकको आवश्यकत्ता हो । राजनीतिमा यसरी च्याँखे थाप्नहुँदैन् । अरु ढंगले लाग्नुहुँदैन् । माधव नेपालको बुद्धि फिरोस । अर्को कुरा गठबन्धनमा जे वार्ता र सहमति भएको छ, त्योअनुसार चल्नुपर्छ । गल्ती गर्नुहुँदैन् ।’

उनले मुलुकको राष्ट्रियता जोगाउनको लागि र संविधानको रक्षाको लागि वंश परम्परालाई कहिल्यैपनि उठ्न नदिनको लागि नयाँ सरकार र नयाँ गठबन्धन आवश्यकत्ता भएकोले नै अहिलेको गठबन्धन र सरकार बनेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot